प्रधानमन्त्रीले युवाहरुलाई भने– ‘तपाईंहरु आशावादी त हुनुस् !’

काठमाण्डु टुडे २०७१ पुष ११ गते १२:२१ मा प्रकाशित

काभ्रे, ११ पुस– प्रधानमन्त्री सुशील कोइरालाले युवाहरुलाई आशावादी हुन आग्रह गरे । मुलुकमा आर्थिक विकास नहुँदा र समयमा संविधान नबन्दा युवाहरुमा निराशा पलाएको भन्दै उनले युवाहरुलाई निराश नहुन आग्रह गरेका हुन् ।

pm inaguration
नेपाल जेसिजको ४१औँ राष्ट्रिय महाधिवेशनको काभ्रेमा उद्घाटन गर्दै प्रधानमन्त्री कोइरालाले भने, ‘निराशा एक प्रकारको रोग हो, यो एकबाट अर्कोमा सर्छ, त्यसैले आत्मविश्वासका साथ अघि बढ्नुस् ।’
आफूमा जिब्रो र फोक्सोको दोेहोरो क्यान्सर हुँदा पनि आत्मविश्वास बोकेर हिंडेको भन्दै उनले भने, ‘ममा अहिले युवा जेसिजभन्दा कुनै कम जोश छैन ।’
उनले दलहरुका बीचमा सहमति बनिरहेको दाबी गर्दै संविधान बन्नेमा ढुक्क हुन आग्रह गरे । कांग्रेस नेता प्रकाशशरण महतले निर्धारित समयमा संविधान आउन नसक्ने बताएको भोलिपल्ट नै प्रधानमन्त्रीले ठोकुवा गर्दै संविधान बन्नेमा कुनै फरक नपर्ने बताएका हुन् ।
‘संविधान बन्छ, बन्छ, यसमा कुनै फरक पर्दैन’, उनले भने । उनले आफु रहरले भन्दा पनि परिस्थितिका कारण प्रधानमन्त्री भएको भन्दै उनले आफ्नो निर्दिष्ट लक्ष्य र आत्मविश्वासका कारण माघ ८ मै संंविधान आउनेमा ढुक्क रहेको बताए ।
कोइरालाले मन्तब्य दिने क्रममा मुलुकले धेरै प्रदेश मुलुकले धान्न नसक्ने भन्दै थोरै प्रदेश बनाउनेबारे दलीय छलफल केन्द्रित भएको बताए । उनले एमाओवादी पनि ललिचो भएर ६ प्रदेशमा आइसकेको दाबी गरे ।
प्रधानमन्त्री सहित काँग्रेसका अधिकांश नेताले एमाओवादी सात प्रदेशमा राजी भएको बताई रहँदा एमाओवादीले भने आफुले पहिचान सहितको दश प्रदेशको अडान नछाडेको बताएको छ । सत्तारुढ कांग्रेस एमालेले सयुक्त रुपमा ७ प्रदेशको खाका प्रस्तुत गरेका छन् ।
कोइरालाले प्रदेशको संख्या बढ्दा मुलुकको आर्थिक भार समेत बढ्ने दाबी गरे उनले १० भन्दा बढी प्रदेश मुलुककै लागि लाजमर्दो हुने बताए ।
आइटीपार्क सञ्चालन गर्न आग्रह
विज्ञान तथा प्रविधी मन्त्रालयको समेत कार्यभार सम्हालिरहेका प्रधानमन्त्री सुशिल कोइरालालाई पार्क सञ्चालन गर्न जेसिजले ध्यानाकर्षण गराएको छ । राज्यको लगानीमा बनेको काभ्रेस्थित सुचना प्रविधि (आईटी) पार्क अझै सञ्चालनमा आउन सकेको छैन ।
विभिन्न सन्दर्भमा आइटी पार्क सञ्चालनको चर्चा हुने गरेको भएतापनि यो सञ्चालनको पर्खाइमा रहेको छ । दुई सय ५७ रोपनी क्षेत्रफलमा फैलिएको पार्क ३० करोडको लगानीमा पहिलो चरणको पुर्वाधार निर्माण सम्पन्न भइसेकका छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us