
काठमाण्डु, ११ पुस– नागरिक अगुवाहरुले संविधानसभालाई नै ओझेलमा पार्ने गरि नेताहरुको अतिकेन्द्रिकृत, अपारदर्शी, अप्रजातान्त्रिक र निष्कर्षविहिन छलफलले राष्ट्रिय क्षमतामा नै प्रश्नचिन्ह खडा गरेको भन्दै राजनीतिक दलका नेताहरुलाई आफ्नो जिम्मेवारी पुरा गर्न ध्यान आकर्षण गरेका छन् ।
सम्पूर्ण नेपाली जनता तथा विश्वसमुदाय राजनीतिक दलहरुले वाचा गरेअनुसारको समयमा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानको व्यग्र प्रतीक्षामा रहेको, तर संविधानसभा तथा जिम्मेवार राजनीतिक शक्तिहरुको हालसम्मको काम, कार्वाही र प्रक्रिया हेर्दा आम नागरिक त्यस दिशातर्फ आश्वस्त हुन सक्ने अवस्था नभएको उनीहरुद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।
‘आम जनताको भावनामा चोट पुग्न नदिन आफ्नो जिम्मेवारी पुरा गर्न सम्बन्धित पक्षको ध्यान आकर्षण गर्दछौं’, विज्ञप्तिमा भनिएको छ ।
विज्ञप्ति निकालेर नेताहरुलाई जिम्मेवार बन्न आग्रह गर्नेहरुमा भोजराज पोखरेल, डा. जगदिश चन्द्र पोखरेल, कविन्द्रराज शर्मा, कपिल श्रेष्ठ, बाबूराम गिरि, वीरेन्द्र मिश्र, चरण प्रसाई, हरिबहादुर बोहोरा, दमन नाथ ढुंगाना, अजयभद्र खनाल, विजयकान्त कर्ण, दुर्गा सोव, शर्मिला कार्की, डा. सुन्दरमणि दिक्षित, रामेश्वर उपाध्याय रहेका छन् ।