भावुक हुँदै प्रचण्डले भने– ‘माओवादी एकताको नेतृत्व पनि अब मै गर्छु’

काठमाण्डु टुडे २०७१ पुष ११ गते ९:२१ मा प्रकाशित

काठमाण्डु, ११ पुस– शान्ति प्रक्रियामा आए लगत्तै नेपालका सबै कम्युनिष्ट पार्टीहरुको एउटै केन्द्र बनाउने भन्दै आएका एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी धाराभित्रै पाँच पटक फुट व्यहोरेर पनि फेरि एउटै कम्युनिष्ट केन्द्र बनाउने इच्छा देखाएका छन् ।

prachanda

१२२औं माओ दिवसको अवसरमा आफुबाट फुटेर गएका पार्टीले काठमाण्डुमै तीन स्थानमा विभिन्न कार्यक्रम गर्दै गरेको तर्फ लक्षित गर्दै उनले यस्तो इच्छा व्यक्त गरेका हुन् । उनले यस अवसरमा संविधान निर्माणको प्रक्रियामा सबै कम्युनिष्ट पार्टीहरुलाई लाग्न अपिल गरे ।

‘म माओवादी पार्टीबाट बिभाजित सबै माओवादी धाराका नेता साथीहरुलाई एउटै केन्द्रमा आउन विशेष अपिल गर्न चाहन्छु’, प्रचण्डले भने ।

माओ दिवसको अवसरमा पार्टी कार्यालय पेरिस डाँडामा आयोजित कार्यक्रममा बोल्दै उनले विश्वभर कम्युनिष्ट पार्टीहरुलाई फुटाउने र सिध्याउने प्रचलन रहेको भन्दै नेपालका कम्युनिष्टहरु त्यस तर्फ सचेत हुनु पर्ने बताए ।

उनले आफुले आगामी बैठकमा सबै कम्युनिष्ट पार्टीहरु एकबद्ध बनाउने प्रस्ताव पेश गर्न लागेको बताए । तर आफ्नै पार्टीबाट फुटर गएका तथा एमाओवादीलाई संसोधनवादी र उग्र बामपन्थी भन्नेहरुसँग एकता कसरी हुन्छ भन्ने खुलाएनन् ।

उनले नेपालीले विश्व क्रान्तिको संदेश दिन सक्ने भन्दै यो काम सवैलाई एक गरेर मात्र हुने बताए । प्रचण्डले भने, ‘चाहे त्यो संविधान निर्माणमा होस, चाहे त्यो शान्तिप्रक्रियालाई निष्कर्षमा पु¥याउने होस या समाजवाद निर्माणको क्रममा होस, हामी नेतृत्व गर्छौं ।’

उनले नेपालका कम्युनिष्टहरु एक भएर नेपाली क्रान्ति सम्पन्न गर्न सके त्यही नै माओ प्रतिको सच्चा श्रद्धाञ्जली हुने बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us