गोरखाबजार, ११ पुस–एकीकृत माओवादीका नेता तथा पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले संविधान जारी गर्न हतार गर्न नहुने बताएका छन् ।
सबै दलको सहमति जुटाएर सकेसम्म माघ ८ गते संविधान जारी गर्नेतर्फ दलहरु लाग्नुपर्ने भन्दै नेता भट्टराईले असहमतिकै बुँदा थाँती राखेर संविधान जारी गर्न नहुने धारणा राखे ।
गोरखाको घ्याल्चोक ९ स्थित सामूहिक कृषि सहकारीको १४औँ साधारणसभाको उद्घाटन गर्दै संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिका सभापतिसमेत रहेका भट्टराईले भने, ‘राम्रो र हाम्रो संविधान जारी गर्नेतर्फ लाग्नुपर्छ, हतार गरेर असहमतिको संविधान जारी भयो भने अर्को द्वन्द्वतर्फ देश धकलिन्छ ।’
मुख्य चार राजनीतिक दलले उठाउँदै आएका मुद्दालाई समेट्ने गरी संविधान जारी गर्नुपर्नेे उनको तर्क थियो । मुख्य चार दलमध्ये एक दललाई बाहिर राखेर संविधान जारी गर्न नसकिने उनले बताए ।
सबै दल आफ्नो अडानबाट लचिलो भएर बैठकमा प्रस्तुत हुने हो भने सहमति जुट्ने उनले विश्वास व्यक्त गरे । रासस