माधव नेपाल भन्छन्, ‘ काँग्रेस–एमालेले दुई तिहाईको दम्भ देखाउन मिल्दैन’

काठमाण्डु टुडे २०७१ पुष १० गते १५:२१ मा प्रकाशित
madhav nepalपोखरा, १० पुस–एमाले नेता माधवकुमार नेपालले सत्तारुढ ठूला दललाई दुईतिहाईको दम्भ नदेखाउन आग्रह गरेका छन् ।
पुष्पलाल स्मृति पार्कको तेस्रो साधारणसभाको बिहीबार पाेखरामा उद्घाटन गर्दै उनले नेपाली काँग्रेस र एमाले दुई तिहाईको दम्भ देखाएर अरु दललाई आक्रोशित गराउन नहुनेमा जोड दिए ।
नेता नेपालले प्रमुख चार राजनीतिक दलका शीर्ष नेतृत्वबीच गम्भीर छलफल सुरु भएकाले एक हप्ताभित्र संविधानका विवादित विषयमा टुङ्गो लाग्ने बताए ।
‘सबैलाई मिल्ने गरी सहमतिको बिन्दु पहिल्याएर सहमति गरिनेछ’, नेता नेपालले भने, ‘सबै दल  ‘मेरो गोरुको बाह्रै टक्का’ भन्ने भाव अर्थात् आआफ्नो हठ त्यागेर सहमतिको विन्दुमा आउनुपर्छ ।’
माघ ८ मै नयाँ संविधान जारी गरी देशलाई समाधान दिनुपर्ने बताउँदै उनले मिल्न सक्ने कुरामा सहमति गर्नुपर्ने र नमिल्ने कुरालाई फरक मत राखेर भए पनि अगाडि बढ्नुपर्ने विचार व्यक्त गरे ।
‘अहिले पनि तोकिएको मितिमा संविधान आउँछ कि आउँदैन भन्नेमा नेपाली जनतामा अन्योल छ’, उनले भने, ‘अब सबै संविधानका अन्तर्वस्तुमा नअल्मलिई देशको आर्थिक समृद्धितर्फ लाग्नुपर्छ ।’
पुष्पलाल स्मृति परिषद्का अध्यक्ष नेपालले कम्युनिष्ट आन्दोलनका शिखर पुरुष पुष्पलाल श्रेष्ठले नेपाली समाजको रुपान्तरणका लागि सुरुआत गरेको स्मरण गरे । व्यवस्थापिका–संसद् विकास समितिका सभापति रवीन्द्र अधिकारीले संविधान निर्माणमा जिम्मेवारीबोधका साथ अघि बढ्न सबै राजनीतिक दलसँग आग्रह गरे ।
कार्यक्रममा सभासद् यज्ञबहादुर थापा, एकीकृत नेकपा (माओवादी)का नेता  गङ्गा पोखरेल र एमालेका पुण्य पौडेललगायतले मन्तव्य व्यक्त गरेका थिए । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us