विप्लवले आफ्नो नाम दुरुपयोग गरेको भन्दै जयपुरी आक्रोशित

काठमाण्डु टुडे २०७१ पुष १० गते १४:२३ मा प्रकाशित

jaipuriकाठमाण्डु, १० पुस– माओवादी नेतृ जयपुरी घर्तीमगरले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नवगठित नेकपा माओवादीले आफ्नो नाम दुरुपयोग गरेको भन्दै आपत्ति जनाएकी छन् ।

विप्लव नेतृत्वको माओवादीले १२२ औं माओ जयन्तीका अवसरमा शुक्रबार राजधानीमा गर्ने भनिएको सभाअघि ललितपुरको कुपण्डोलबाट खुलामञ्चका लागि निस्कने प्रदर्शनको नेतृत्व घर्तीले गर्ने भन्दै सञ्चार माध्यममा विज्ञप्ति पठाएपछि उनले आपत्ति जनाएकी हुन् ।

मोहन वैद्यसँग सम्बन्ध विच्छेद गरी विप्लवले पार्टी घोषणा गरेयता घर्ती निस्क्रिय छिन् । उनले आफू दुवै पार्टीमा नरहेको बताइन् ।

‘मेरो कोसिस पार्टी एकताका लागि थियो, फुटेपछि म दुवै पार्टीमा छैन’, घर्तीले काठमाण्डु टुडेसँग भनिन्, ‘जसरी मैले जुलुसको नेतृत्व गर्ने भन्ने हल्ला चलाइएको छ, त्यसमा मेरो आपत्ति छ ।’

घर्तीले आफूलाई थाहै नदिई जुलुसको नेतृत्व गर्नेमा नाम राखेको भन्दै आइन्दा त्यस्तो ‘अराजनीतिक’ कार्य नगर्न पनि चेतावनी दिइन् ।

उनले दुवै पार्टीका शीर्ष नेतृत्वलाई आफू कतै पनि नरहेको जानकारी गराउँदा गराउँदै आफ्नो राजनीतिक जीवनमा प्रश्न उठ्ने गरी विवादित बनाउने गरेको भन्दै आक्रोश पोखिन ।

‘मैले दुवै पार्टीका नेतालाई म तपाइँहरुसँग छैन भनिसकेकी छु’, उनले भनिन्, ‘तर पनि बेलाबेलामा मेरो नाम लिएर विवादमा तान्ने कोसिस भइरहेको छ, त्यसमा मेरो आपत्ति छ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us