यसरी गर्दैछन् टुँडिखेलमा विप्लवले शक्ति प्रदर्शन

काठमाण्डु टुडे २०७१ पुष १० गते ११:४२ मा प्रकाशित

काठमाण्डु, १० पुस– मोहन वैद्यसँग सम्बन्ध विच्छेद गरेर नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वमा गठन भएको नेकपा माओवादीले शुक्रबार राजधानीमा शक्ति प्रदर्शन गर्ने तयारी गरिरहेको छ ।

biplav
माओ दिवसको दिन पारेर नवगठित माओवादीले पहिलो पटक राजधानीमा शक्ति प्रदर्शन गर्न लागेको हो । करिब २० हजार मानिस राजधानीमा उतार्ने तयारी भएको उक्त पार्टीका केन्द्रीय सदस्य एवम् जनस्वयमसेवक व्युरो प्रमुख दिपक चलाउनेले काठमाण्डु टुडेलाई बताए ।
चलाउनेका अनुसार काठमाण्डु उपत्यका आसपासका जिल्लाबाट बढी र वाहिरी जिल्लाबाट प्रतिनिधि मूलक सहभागिता गराइने तयारी रहेको छ । सभामा आउनेहरुका लागि निशुल्क सार्वजनिक गाडीको व्यवस्था गरिएको छ ।
खुला मञ्चमा हुने सभालाई संयोजक चन्दसहितका नेताले सम्बोधन गर्ने बताइएको छ । सभाअघि राजधानीका विभिन्न पाँच स्थानबाट जुलुस खुलामञ्च पुग्ने पनि चलाउनेले जानकारी दिए ।
केन्द्रीय सदस्य गुणराज लोहनीले टुँडिखेल सभाबाटै विशेष घोषणा हुन सक्ने दाबी गरे । उनले संविधानसभाबाट संसदीय संविधान जारी गर्न लागिएकाले त्यसलाई नमान्ने घोषणा गर्न तथा विद्रोह गर्छौं भन्ने सन्देश दिन राजधानीको खुलामञ्चमा सभा गर्न लागिएको बताए ।
राज्यको चरित्रले भावी संघर्षको रुप तय गर्ने भन्दै घोषणापछिको आन्दोलनबारे लोहनीले केही खुलाउन चाहेनन् ।
एक नेताका अनुसार आन्दोलनमा जानुअघिको विप्लवको यो अन्तिम सार्वजनिक भाषण हुन सक्छ । काठमाण्डुमा विप्लवको शक्ति प्रदर्शन कस्तो हुन्छ भन्नेमा धेरैको जिज्ञासा रहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us