
वीरगन्ज, १० पुस– पर्साको शङ्करसरैया गाविसबाट सशस्त्र प्रहरीले ठूलो परिमाणमा चरेस र गाँजा बरामद गरेको छ ।
शङ्करसरैया–२ हरैयाबाट एक क्विन्टल ४० किलो चरेस र ४० किलो गाँजा बरामद गरेको हो ।
सशस्त्र प्रहरी बेस क्याम्प सुवर्णपुरका सशस्त्र प्रहरी नायब निरीक्षक नीरबहादुर भोलनको नेतृत्वमा रहेको गस्ती टोलीले बुधबार राति १२ बजे मकवानपुरको मनहरीबाट ल्याउँदै गरेको अवस्थामा चरेस र गाँजा बरामद गरेको जनाएको छ ।
सशस्त्र प्रहरी गस्ती टोलीलाई देख्ने बित्तिकै तस्करले एक राउन्ड फायर गरेको र सशस्त्र प्रहरीले पनि एक राउन्ड जवाफी फायरिङ गरेको थियो ।
बरामद भएको चरेस र गाँजा आवश्यक कारबाहीका लागि सीमा सुरक्षा कार्यालय पर्सामा पठाउने तयारी भइरहेको सशस्त्र प्रहरी नायब निरीक्षक भोलानले जानकारी दिए ।
तस्करहरु भने भाग्न सफल भएको उनले बताए ।