
काठमाण्डु, १० पुस– एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधामन्त्री सुशील कोइरालालाई भेट्न बालुवाटार पुगेका छन् ।
दुई नेताबीच संविधान निर्माण प्रक्रियामा उत्पन्न जटिलता अन्त्यको प्रयासमा बिहान करिब एक घण्टा कुराकानी भएको प्रचण्डका स्वकीय सचिव चुडामणि खड्काले काठमाण्डु टुडेलाई जानकारी दिए ।
खड्काका अनुसार छलफल दलहरुबीच विश्वासको वातावरण तयार गरी संविधान निर्माण गर्ने विषयमा केन्द्रित थियो ।
खड्काले प्रधानमन्त्रीले आजै एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटेपछि अपराह्न प्रमुख चार पक्षको बैठक बोलाउने छन् ।
यसअघि बुधबार बसेको प्रमुख चार पक्षको बैठकमा दोश्रो तहका नेताले शीर्ष नेतृत्वबीच उत्पन्न आशंका हटाउन छुट्टै छलफल जरुरी रहेको बताएका थिए । सोहीअनुरुप कोइराला र प्रचण्डबीच भेटवार्ता भएको हो ।
सत्ता पक्षले पेलेर जान खोजेको भन्दै गत शनिबार बालुवाटारमा बसेको तीन दल बैठक बहिस्कार गरेलगत्तै प्रचण्डले सरकार र सत्तारुढ पार्टीका नेताविरुद्ध सार्वजनिक रुपमा कडा टिप्पणी गर्दै आएका छन् ।
यसअघि बुधबार प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच बालुवाटारमा एक घण्छटा कुराकानी भएको थियो ।