
काठमाण्डु, १० पुस– नेपाली इसाई धर्माबलम्बीले पनि आज विभिन्न कार्यक्रम आयोजना गरी क्रिसमस दिवस मनाउँदै छन् ।
जिसस क्राइस्टको जन्म भएको डिसेम्बर २५ तारिखका दिन हरेका वर्ष यो महोत्सव मनाइने गरिन्छ । सूर्यभक्त रोमका तत्कालीन बादशाह कन्स्टेन्टाइनले सन् ३५० देखि यो महोत्सव मनाउन सुरु गरेका थिए ।
पछि उनैले क्रिश्चियन धर्म अवलम्बन गरेपछि सोही दिन सूर्यको साटो जिसस क्राइस्टको जन्मदिनका रूपमा मनाउन आदेश दिएका थिए ।
२०६३ सालमा तत्कालीन व्यवस्थापिका–संसदले नेपाललाई धर्मनिरपेक्ष राज्य घोषणा गरेपछि क्रिसमस दिवसले राष्ट्रिय पर्वको मान्यता पाएको हो । सरकारले आज सार्वजनिक बिदा दिएको छ ।
यसैबीच राष्ट्रपति रामवरण यादव र प्रधानमन्त्री सुशील कोइरालालगायत विभिन्न राजनीतिक दलका नेताले इसाई धर्मावलम्बीको महान् पर्व क्रिसमसका उपलक्ष्यमा देशभित्र र बाहिर रहेका सम्पूर्ण क्रिश्चियन धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिका लागि हार्दिक शुभकामना व्यक्त गरेका छन् ।
उनले आफ्नो सन्देशमा यस पर्वले सबै नेपाली दिदीबहिनी तथा दाजुभाइहरुबीच आपसी मेलमिलाप, सद्भाव एवम् भाइचाराको भावना जागृत गराई शान्त, समुन्नत तथा समृद्ध नेपाल बनाउन हामी सबैलाई प्रेरणा प्राप्त होस् भन्ने कामना गरेका छन् ।