देउता रिसाउने डरले महिनावारी भएका बेला स्कुल जाँदैनन्, अछामका किशोरी

काठमाण्डु टुडे २०७१ पुष १० गते ३:१३ मा प्रकाशित

अछाम, १० पुस– अछाममा महिनावारी भएका बेला किशोरी विद्यालय नजाने गरेको पाइएको छ । जिल्लाका ग्रामीण भेगमा स्थापना भएका विद्यालयमा देवी, देवताका मन्दिर हुनेगरेकाले महिनावारी भएका बेला त्यस स्थानमा जाँदा देवता रिसाउने डरले विद्यालय नजाने गरेको पाइएको हो ।

जिल्लाका दुर्गम गाविस घोडासैन, ढकारी, हिच्मा, वलाता, नाडा, तुर्माखाँद, ढुंगाचाल्ना, ऋर्षिदह, बाटुलासैन, सिउँडी, सोकटलगायतका गाविसमा रहेका विद्यालय परिसरमा मन्दिर रहेकाले उनीहरू विद्यालय नजाने गरेका हुन् ।

महिनावारी भएका बेला विद्यालयमा किशोरी नआउने गरेको सरस्वती निमावि बडीरुख–२ हिच्माका प्रधानाध्यापक अम्बिका शाहीले बताए । हिच्माको सरस्वती निमावि कक्षा ८ मा अध्ययन गर्ने गौरा बुढाथापाले भनिन्, ‘महिनावारी भएका बेला हामी विद्यालय जाँदैनौं, विद्यालयमा देवी भगवतीको मन्दिर छ, देवता रिसाउँछन् र हामीलाई देवता लाग्छ  ।’

ग्रामीण भेगमा परम्परागत सोच र अन्धविश्वासका कारण अधिकांश विद्यालयका किशोरीले यस्तो समस्या भोग्नुपरेको बताइएको छ ।

जिल्लामा सामाजिक कुसंस्कारका रूपमा रहेको छाउगोठमुक्त अभियान सञ्चालन भए पनि दुर्गम बस्तीका विद्यालयमा भने कार्यक्रमले प्रभाव पार्न सकिरहेको छैन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us