
इलाम, ९ पुस– प्रहरीको विशेष ब्युरो हुँ भन्दै सर्वसाधारणलाई आतङ्कित पार्ने एक कार्यालय सहयोगीलाई इलाका प्रहरी कार्यालय मङ्गलबारेले बुधबार पक्राउ गरेको छ ।
जिल्ला प्राविधिक कार्यालय इलाममा विगत पाँच वर्षदेखि कार्यालय सहयोगीमा कार्यरत पाँचथर ओयाम–१ का ३१ वर्षीय दुर्गाप्रसाद नेपालीलाई प्रहरीले पक्रेको हो ।
प्रहरीको युनिफर्म लगाएको फोटोसहित प्रहरीले नेपालीलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय इलाममा बुझाएको हो ।
प्रहरीले नेपालीसहित अर्की एक युवतीलाई समेत पक्राउ गरे पनि युवतीको नाम भने गोप्य राखेको छ ।
ती युवकले प्रहरीको विशेष ब्युरो हुँ भन्दै सर्वसाधारणलाई थर्काउने गरेको प्रहरी निरीक्षक यामबहादुर पौडेलले जानकारी दिए ।
आफूहरूलाई ठगी गरेको भन्दै चार÷पाँच जना पीडितले इलाका प्रहरी कार्यालय मङ्गलबारेमा उजुरी दिएका थिए । रासस