
काठमाण्डु–व्यवस्थापिका–संसद्अन्तर्गतको कृषि तथा जलस्रोत समितिले काठमाण्डु उपत्यकाका पाँचवटा मालपोत कार्यालयलाई आगामी माघ एक गतेदेखि सूचना प्रविधि प्रणाली अवलम्बन गर्न निर्देशन दिएको छ ।
समितिका सभापति गगन थापाको अध्यक्षतामा बसेको बैठकले काठमाण्डु, ललितपुर र भक्तपुरका मालपोत कार्यालयलाई भू–सूचना प्रवाह गर्न तथा रजिस्ट्रेसनलगायतका काम गर्न निर्देशन दिएको हो ।
बैठकले देशका सबै मालपोत कार्यालयमा उक्त प्रणाली लागू गरी सूचना प्रविधिको प्रयोगबाट सेवा प्रवाह गर्ने व्यवस्था मिलाउन भूमिसुधार तथा व्यवस्था मन्त्रालयलाई निर्देशन समेत दिएको छ । साथै नापी कार्यालयमा समेत उक्त प्रणाली लागू गर्न आदेश दिइएको छ ।
बैठकले आगामी दुई वर्षभित्र सबै मालपोत कार्यालयलाई आधुनिक भू–सूचना प्रविधियुक्त बनाउन आवश्यक स्रोतसाधन र जनशक्तिको व्यवस्था गर्न नेपाल सरकार र सम्बन्धित निकायलाई निर्देशन दिएको बताइएको छ । रासस