
नयाँ दिल्ली, ७ पुस– केही दिनयता नेपालमा मात्रै होइन, दक्षिण एसियामै चिसो बढ्दै गएको छ । भारतको राजधानी नयाँ दिल्लीमा त बाक्लो कुहिराका कारण सोमबार बिहान हवाइ उडान समेत प्रभावित भए ।
सोमबार बिहानैदेखिको कुहिरोका कारण करिब ३६ विमान र ५० वटा रेल स्थगित भएको समाचारमा जनाइएको छ ।
बाक्लो कुहिरोको कारण विमान उड्न नसक्ने र रेलपनि आफ्नो मार्गमा गुड्न नसक्ने अवस्था भएको अधिकारीहरुले जनाएका छन् । नयाँ दिल्लीमा विगतका केही दिनदेखि चिसो बढिरहेको छ ।
दिल्लीबाट उडान भर्ने कम्तीमा ३६ वटा उडान स्थगित हुनुको साथै अन्य तीनवटा उडान रद्द भएको जनाइएको छ ।
यसैगरी मौसमका कारण ५० वटा रेल स्थगित हुनुको साथै १२ वटा रेल सेवाको समय परिर्वतन भएको बताइएको छ ।
दिल्लीमा सोमबार बिहानको तापक्रम ४.२ डिग्री सेल्सियसमा झरेको बताइएको छ । चिसोका कारण दिल्लीको जनजीवन प्रभावित भएको पनि समाचारमा उल्लेख गरिएको छ ।