‘ओलीको गोली’ ले यसरी भाँडियो निर्णायक भनिएको बालुवाटार बैठक

काठमाण्डु टुडे २०७१ पुष ६ गते ३:०० मा प्रकाशित

kp oliकाठमाण्डु, ६ पुस– संविधानका मुख्य विवादित विषय शासकीय स्वरुप र संघीयतामा निर्णायक छलफल गर्न शनिबार बसेको तीन दलको बैठक चर्काचर्कीपछि स्थगित भएको छ ।

बालुवाटारमा बसेको बैठकमा काँग्रेस, एमाले र एमाओवादीका नेताहरूबीच चर्काचर्की भएको हो । प्रधानमन्त्री सुशील कोइराला र एमाले अध्यक्ष केपी शर्मा ओलीले बोलिसकेपछि एमाओवादी नेताले आपत्ति जनाउँदै बैठक छाडेर हिँडेका थिए ।

बैठकमा एमाले अध्यक्ष ओलीले २२ दलीय मोर्चा विघटन गर्ने माग गर्नुका साथै संविधानमा सहमति नभए प्रक्रियामा जाने बताएपछि एमाओवादी नेताहरू बिच्किएका थिए ।

त्यसअघि प्रधानमन्त्री कोइरालाले दुवै पक्षलाई ‘विनविन’ हुने गरी समझदारीमा आउन एमाओवादी नेताहरूलाई आग्रह गरेका थिए । ‘लेनदेनकै आधारमा सहमति गरौं ।

सहमति गर्दा कसैले जित्ने र कसैले हार्ने रुपमा नभई विनविन हुने गरी समझदारी जुटाऔं । समय खेर नफालौं’ प्रधानमन्त्रीको भनाई उद्धृत गर्दै स्रोतले भन्यो । त्यसलगतै एमाले अध्यक्ष ओली बोलेका थिए । उनले सुरुमै एमाओवादी नेतृत्वमा रहेको २२ दलीय मोर्चा विघटन हुनुपर्ने माग गरेका थिए ।

‘संविधानमा समझदारी जुटाउन चार पक्षबीच वार्ता भइरहेका बेला आन्दोलनको मोर्चामा बस्नु राम्रो भएन, यो विघटन हुनुपर्छ’ ओलीको भनाइ थियो । साथै, उनले संविधानमा तत्काल सहमति नहुने भए प्रक्रियामा जानुपर्नेमा जोड दिएका थिए । ‘संविधानका लागि कतिञ्जेल पर्खने ?’ ओलीको भनाइ थियो, ‘सहमति नहुने हो भने प्रक्रियामा जाऔं ।’

काँग्रेस उपसभापति रामचन्द्र पौडेलले ओलीको प्रस्तुति यसअघिको तुलनामा नरम रहँदारहँदै पनि  एमाओवादीले बैठक छाडेर जानुलाई आश्चर्यजनक भने ।  ‘समय मात्रै बिताउन खोजेका हुन् कि गमभीर नभएका हुन्, हामीलाई आशंका जन्मिएको छ’, उनले भने ।

एमाओवादीले भने सहमतिलाई भन्दा प्रक्रियालाई मात्रै जोड दिन थालेकाले बैठक छाडेको बताएको छ । अध्यक्ष पुष्पकमल दाहालले भनाइ राखिसकेपछि एमाओवादीले बैठक बहिष्कार गरेको थियो ।

‘तपाईहरू सहमतिका लागि ठोस प्रस्ताव पनि नल्याउने, हाम्रो कुरा पनि नमान्ने, खाली प्रक्रियामा जाने कुरा गर्नुहुन्छ । तपाईहरू संविधान बनाउने पक्षमा हुनुहुन्न’, दाहालको भनाइ थियो, ‘यसले मुलुकमा मुठभेडको अवस्था ल्याउँछ ।’

ओेलीले संघीयताबारे एमाओवादी–मधेसीले ल्याएको प्रस्तावले ‘साम्प्रदायिक, जातीय द्वन्द्व’ ल्याउने टिप्पणी गरेका थिए । उनले चारजना मधेसी नेताले भनेजस्तो संघीयता मान्न नसकिने तर्क गरेपछि वातावरण बिग्रिएको बैठकमा सहभागी एक नेताले बताए ।

‘संघीयताको विषय थाती राखेर संविधान जारी गर्न सकिन्छ, त्यसका लागि आयोग बनाउनुपर्छ’, ओलीको भनाइ उद्धृत गर्दै ती नेताले भने, ‘संविधान प्रक्रियामा गएर भए पनि बनाइन्छ ।’ उनले पहिलो संविधानसभाले गरेका कामबारे अनभिज्ञता प्रकट गर्दै ब्यंग्य गरेका थिए ।

ओलीले शनिबार जनजाति नेताले पहिचानसहितका संघीयताको पक्षमा गरेको प्रदर्शनप्रति आपत्ति जनाएका थिए ।
बैठकपछि ओलीले सहमतिको सम्भावना टर्दै गएको ट्वीटरमार्फत् बताएका छन् ।

‘तपाईँहरू संविधान बनाउने पक्षमा हुनुहुन्न भन्दै प्रचण्डजी तीन दलको बैठकबाट जर्याकजुरुक उठेर हिँडेपछि सहमतिको सम्भावना लगभग सकियो’ ओलीले भनेका छन् ।

बैठकमा सहभागी एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले काँग्रेस, एमालेले सहमतिभन्दा प्रक्रियामा जोड दिएकाले गतिरोध आएको बताए । ‘ठोस विषयवस्तुमा प्रवेश नगर्ने, प्रक्रियामा जाने धम्कीको भाषा बोल्ने काम सत्तारुढ दलबाट भयो’, उनले भने, ‘त्यसपछि बैठक अवरुद्ध हुन पुग्यो ।’

एमाले वरिष्ठ नेता झलनाथ खनालले एमाओवादीले सहमति नभए प्रक्रियामा जाने कुराको विरोध गर्दै बैठक छाडेर हिडेको बताए ।

‘एमाओवादीले ठोस कुरा ल्याएन । पेल्न खोजेको आरोप लगायो’, उनले भने, ‘हामीले सहमति नभए प्रक्रियामा जानुपर्छ भनेका मात्र के थियौं, एमाओवादी नेता बैठक छाडेर हिड्नुभयो ।’
बैठकपछि संविधानसभाको संवाद समितिका सभापति एवम् एमाओवादी नेता बाबुराम भट्टराईले सहमतिबाट मात्र संविधान सक्ने बताएका छन् । उनले फेसबुकमा प्रतिक्रिया दिँदै प्रक्रियामा जाने कुराले बैठक अवरुद्ध भएको बताएका छन् ।
कान्तिपुर दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us