ओबामा भारत आउने, नेपाल नआउने

काठमाण्डु टुडे २०७१ पुष ६ गते ३:०५ मा प्रकाशित

Modi with Obamaकाठमाण्डु, ६ पुस– आगामी महिना भारतमा आउने हुदाँ पनि अमेरिकी राष्ट्रपति बाराक ओबामाको दृष्टि नेपालमा परेको छैन ।

ओबामाले यसपटक दक्षिण एसिया भ्रमण गर्दा नेपाल आउनसक्ने सम्भावना केलाएर प्रधानमन्त्री सुशील कोइरालाले हालै मात्र औपचारिक निम्तोपत्र पठाएका थिए ।
राजदूत पिटर डब्लु बोडीलाई निवासमै बोलाएर अमेरिकी राष्ट्रपतिलाई निम्तो पत्र दिएका थिए । भारतको राष्ट्रिय दिवस संविधान जारी भएको गणतन्त्र दिवसमा प्रमुख अतितिको रुपमा निम्त्याइएका राष्ट्रपति ओबामाले छोटो समयका लागि भए पनि नेपाल भ्रमणका लागि समय मिलाउन आग्रह गर्दै प्रधानमन्त्री कोइरालाले वासिङ्टन डिसीस्थित नेपाली दूतावास र बालुवाटार दुवै स्थानबाट पत्राचार गरेका थिए ।
‘नेपालमा छोटो सयममा विभिन्न परिवर्तन हुँदै अहिले प्रजातन्त्रको संस्थागत विकास प्रक्रियामा अघि बढ्न लागेको छ । यस्तो समयमा प्रजातान्त्रिक मुलुकका राष्ट्रपतिले सानो स्टपको रुपमा भए पनि नेपाल भ्रंमण गरिदिदा प्रजातन्त्रमा आस्था राख्नेलाई ठूलो मद्दत र हौसला मिल्ने थियो’, प्रधानमन्त्रीले राजदूतलाई मात्र भनेनन् पत्रमै लेखेर पठाए ।

राष्ट्रसंघको महासभामा सहभागी हुन कोइराला न्यूयोर्क जाँदा राष्ट्रपतिसँगको भेटमा पनि उनले त्यस्तो निमन्त्रणा गरेका थिए । २०५६ सालमा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले क्लिनटनको भ्रमणको पहल गरेका थिए ।

नेपालमा पूर्वराष्ट्रपतिकौ हैसियतमा सन २००८ पछि जिम्मी कार्टरले पटकपटक भ्रमण गरे । क्लिनटनको समयमा प्रथम महिलाको रुपमा हिलारी क्लिनटनले नेपालको औपचारिक भ्रमण गरेकी थिइन् । त्यसअघि १२ वर्षअघि अमेरिकी विदेशमन्त्री कोलेन पावेलले नेपालको भ्रमण गरेका थिए । हिलारीको भ्रमणपछि नेपालमा सहायकमन्त्रीस्तरका अमेरिकी अधिकारीले मात्र भ्रमण गरेका छन् ।
कान्तिपुर दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us