हङकङ तथा मकाउ एक चीनमैः चिनियाँ राष्ट्रपति सी

काठमाण्डु टुडे २०७१ पुष ५ गते १२:४३ मा प्रकाशित

 

ऐजेन्सी– चिनियाँ राष्ट्रपति सी जिनपिङले शनिबार हङकङ र तथा मकाउलाई उनीहरू चीनको एउटा भूभाग भएको कुरा सम्झन आग्रह गरेका छन् ।

चीनका यी दुबै अर्धस्वायत्त क्षेत्रमा स्वतन्त्रताको माग गरी रहेका कार्यकर्ताहरूले हाल नेतृत्वको स्वतन्त्र निर्वाचनका लागि अभियान सञ्चालन गरिरहेको सन्दर्भमा सीको यस्तो धारणा सार्वजनीक भएको हो ।

C

मकाउ पोर्चुगलबाट चीनमा हस्तान्तरण भएको १५ औँ वार्षिकोत्सव मनाउन चिनियाँ राष्ट्रपति मकाउको दुई दिने भ्रमणमा त्यहाँ पुगेका छन् । मकाउलाई जुवाको केन्द्रको रूपमा लिइन्छ र यस अवधिमा सुरक्षा व्यवस्था कडा बनाइएको छ । यसबीच हङकङमा प्रहरीले प्रदर्शनकारीको बाँकी प्रदर्शनस्थल पनि आफ्नो नियन्त्रणमा लिएको छ ।

शुक्रबार विमानस्थलमा राष्ट्रपति सीको प्रतिक्षामा बसेका पत्रकारलाई छाता प्रयोग गर्न अनुमति दिइएको थिएन । हङकङमा प्रजातन्त्र समर्थक आन्दोलनमा छाता सङ्केतको रूपमा रहेको थियो ।

प्रदर्शनकारीको एक सानो समूह पहेँलो छाताका साथमा राष्ट्रपति सी रहेको स्थानमा पुग्न प्रयास गरेको थिए । प्रहरीले उनीहरूलाई उक्त स्थल प्रतिबन्धित भएको भनी रोकेका थिए ।

चिनियाँ राष्ट्रपति सीले यी दुबै क्षेत्रलाई उनीहरूले गलत विधि अवलम्बन गरेको चेतावनी दिए । उनले दुबै क्षेत्रले एक चीन सिद्धान्तलाई मान्नुपर्ने तथा दुई प्रणालीका भिन्नतालाई सम्मान गर्नुपर्ने बताए ।

उनले उक्त कुरा मकाउको प्रमुख कार्यकारी अधिकृत फर्नान्डो चुइको सपथग्रहण समारोहमा बताएका हुन् । उनलाई अगस्त महिनामा बेइजिङ समर्थक समितिले दोस्रो पदावधिका लागि पनि छनौट गरेको हो ।

मकाउका स्थानीय विरोधी नेता जासन चावले हङकङको छाता अन्दोलनलाई हेरेर मकाउका जनताले पनि प्रजातन्त्रका लागि आफ्नो कारबाही अगाडि बढाउनुपर्ने बताए ।

मकाउ तथा हङकङमा चीनको प्रशासनको नियन्त्रण रहेको छैन । यसो भए पनि यहाँको प्रशासन बेइजिङ समर्थक समितिले चयन गरेका नेताले सञ्चालन गर्छन् ।

राष्ट्रपति सीले हङकङका नेता लेयुङ चुङ–यिङलाई आफ्नो समर्थन समेत जनाए । उनीहरूबीच शुक्रबार भेटवार्ता भएको हो । उनले हङकङका नेतामा पूर्ण विश्वास रहेको बताए ।

बेइजिङ तथा लेयुङको प्रशासन दुबैले हङकङमा प्रदर्शनलाई गैरकानुनी मानेका छन् र उनीहरूले प्रदर्शनकारीलाई कुनै छुट दिएका छैनन् ।

चीनमा हाल भ्रष्टाचारविरोधी अभियान सञ्चालन भइरहेको अवस्थामा क्यासिनोको आय निकै घटेको छ । चीनको मकाउमा मात्र जुवालाई कानुनी रूपमा स्वीकार गरिएको छ ।

बेइजिङले मकाउलाई जुवाको आयमा मात्र भर नपर्न भनेको छ र मकाउको क्यासिनोमा चीनबाट गैरकानुनी रूपमा आउने रकममा कारवाही गरिहेको छ ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us