आफ्नै छोराछोरीको हत्याको आरोपमा आमा पक्राउ

काठमाण्डु टुडे २०७१ पुष ५ गते १०:४१ मा प्रकाशित

एजेन्सी–अस्ट्रेलियाको उत्तरी नगर केन्र्समा आफ्ना सात सन्तानका साथै आठ बालबालिकाको हत्या गरेको आरोपमा एक आमालाई फक्राउ गरिएको जानकारी प्रहरीले दिएको छ । हाल यस अपराधपछि शोकाकुल यस नगरमा सुरक्षा व्यवस्था सतर्क राखिएको छ ।

अधिकारीहरुले यी बालबालिकाको मृत्युका कारणबारे जानकारी दिएका छैनन् । मारिएकामा साना बालकदेखि बाह्रवर्ष नाघेका नवयुवा पनि परेको बताइएको छ । शुक्रबार बिहान ती शव फेला परेको घरमै छुरी पनि फेला परेको बताइएको छ ।

उक्त हत्यामा संलग्न भएको भनी ३७ वर्षीया एक आमालाई राती पक्राउ गरिएको र हाल निज केन्र्स बेस अस्पतालमा प्रहरीको सुरक्षामा रहेको गुप्तचर प्रहरी निरीक्षक ब्रुनो एस्निकरले जानकारी दिए ।

प्रहरीले दुई, ११, १२ र १४ वर्षका चार बालिका तथा पाँच, छ, आठ तथा नौँ वर्षका चार बालकको मृत्युभएको पुष्टि गरेको छ । प्रहरीले यी पारिवारिक संस्कृतिको कारण यी बालबालिकाको नाम उल्लेख गर्न नसकिने बताए । यहाँका केही आदिवासी संस्कृतिमा मृतकको नाम भन्नु निजप्रति असम्मान जनाउनु जस्तै हुने ठानिन्छ ।

यसरी पक्राउ परेकी महिला सात बालबालिकाकी आमा तथा १४ वर्षीया बालिकाकी काकी भएको बताइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us