संविधान जारी गर्न माघ आठ नै चाहिँदैनः भट्टराई

काठमाण्डु टुडे २०७१ पुष ५ गते २:३५ मा प्रकाशित

भक्तपुर, ५ पुस–संवैधानिक–राजनीतिक संवाद समितिका सभापति एवम् पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले सहमतिमा संविधान जारी गर्न माघ आठ कै मिति हुनुपर्छ भन्ने नभएको बताएका छन् ।

baburam

मध्यपुर थिमिमा आयोजना राष्ट्रिय मानव अधिकार सरोकार केन्द्र नेपालको प्रथम भक्तपुर जिल्ला सम्मेलनको उद्घाटन गर्दै उनले जनताको चाहनाअनुसारको संविधान जारी गर्न यही मिति नै हुनुपर्छ भन्ने नरहेको बताए ।

डा भट्टराईले भने, ‘अहिले जनताको संविधान बनाउन लागेको हो, बाजा बजाएर माघ आठ मै संविधान जारी गर्नुपर्छ भन्ने छैन, सबै कुरामा सहमति भए माघ आठ अघि या फागुन ८ मा पनि संविधान जारी गर्न सकिन्छ ।’

माघ आठ मै संविधान जारी गर्नुपर्छ भनेर महत्वपूर्ण मुद्दाहरु छोडेर सहमति गर्न नसकिने बताउँदै उनले संविधान जारी गर्दा महत्वपूर्ण मुद्दालाई समेटेर जानुपर्नेमा जोड दिए ।

सङ्घीयता, शासकीय स्वरुप, निर्वाचन प्रणाली, पहिचानजस्ता महत्वपूर्ण मुद्दामा सहमति नभई संविधान जारी गर्न नसकिने बताउँदै भट्टराईले भने, ‘माघ आठ मै संविधान जारी गर्नुपर्छ भनेर महत्वपूर्ण मुद्दालाई बिर्सिएर सहमति गर्न सकिँदैन, दलहरुबीच अझै पनि महत्वपूर्ण मुद्दामा पूर्णतः सहमति भएको छैन, सहमति गर्ने प्रयास निरन्तर जारी छ, सहमति बनेको खण्डमा माघ आठ भन्दाअघि या पछि जहिले पनि संविधान जारी गर्न सकिन्छ ।’ रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us