
काठमाण्डु, ५ पुस– उपराष्ट्रपति परमानन्द झाको स्वकीय सचिवालय नातेदारबाटै भरिएको छ । राजनीतिक पृष्ठभूमि नरहेका झाले परिवारका चार सदस्यलाई उपल्लो तहको सुविधा पाउने गरी आफ्नो सचिवालयमा भर्ती गरेका छन् ।
उपराष्ट्रपति आफ्ना छोरा कृष्णचन्द्र झालाई स्वकीय सचिव बनाएका छन् । यस्तै भतिज देवानन्द झा उपराष्ट्रपति कार्यालायको स्वकीय सचिवमा कार्यरत छन् । देवानन्दले सहसचिव सरहको सेवासुविधा उपराष्ट्रपति कार्यलयको स्वकीय सचिवालयबाट बुझ्ने गर्दछन् ।
उपराष्ट्रपति झाले बुहारीलाई पनि स्वकीय सचिवालयमै जागिर खुवाएका छन् । उनकी बुहारी श्यामली झा उपराष्ट्रपति कार्यलयको स्वकीय सचिवालयमा रही सहसचिव सरहको सुविधा लिने गरी नियुक्ति पाएकी छन् । केही समयअघिसम्म झाकी छोरी ज्योति झा पनि स्वकीय सचिवालयमै रहेकी थिइन । संयुक्त राष्ट्रसंघको प्रोजेक्टमा काम गर्न थालेपछि मात्रै उनले सचिवालय छोडेकी हुन् ।
प्रधानमन्त्री सुशील कोइरालाले पनि स्वकीय सचिवालयमा भतिज अतुल कोइराला, स्वकीय सचिवमा भान्जा रमेश भण्डारी, मृदुला कोइरालालगायतका नियुक्त गरेका छन् । प्रधानमन्त्री कार्यालयमा रहेकी प्रभा कोइराला पनि उनको भान्जी हुन् ।
अर्थमन्त्री रामशहरण महतले पनि आफ्नो स्वकीय सचिवमा भतिजा रमेश महतलाई नियुक्त गरेका छन् । शिक्षामन्त्री चित्रलेखा यादवले पनि आफ्नै नातेदार श्रीकृष्ण यादवलाई सचिवालयमा नियुक्त गरेकी छिन् । गृहमन्त्री वामदेव गौतमले पनि छोरा हरीश गौतमलाई स्वकीय सचिवमा नियुक्त गरेका छन् ।
भुमिसुधारमन्त्री दल बहादुर राना, सिंचाइमन्त्री एनपी साउद, स्वास्थ्य मन्त्री खगराज अधिकारी, सहरी विकासमन्त्री नारायण खड्कालगायतकाले पनि नातेदारनै सचिवालयमा नियुक्त गरेका छन् ।
रानधानी दैनिकबाट