
काठमाण्डु, ४ पुस– गृहमन्त्री वामदेव गौतमले मदिरा सेवन गरी राजमार्गमा हिँड्नेलाई समेत कारबाही गर्नु पर्ने बताएका छन् ।
व्यवस्थापिका–संसदको राज्य व्यवस्था समितिको शुक्रबारको बैठकमा उनले मदिरा सेवन गरेर हिंड्न पनि रोक लगाउनुपर्ने बताएका हुन् । राजमार्ग आसपास क्षेत्रमा मदिरा बेचबिखन गर्नमा रोक लगाउनुपर्ने उनको भनाइ थियो ।
उनले अधिकांश सवारी दुर्घटना मदिरा सेवनका कारण हुने गरेको भन्दै नियन्त्रणका लागि सबै मिलेर काम गर्नुपर्ने बताए । गौतमले मदिरा किन्नेको तीन पुस्ते उल्लेख गर्नुपर्ने व्यवस्थाका लागि लविङ गर्न सभासदहरुलाई आग्रह गरे ।
मदिरा किन्दा तीन पुस्ते उल्लेख गर्नुपर्ने व्यवस्था अमेरिका र भारतमा रहेको उनको भनाइ थियो ।
एमाओवादी अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारमा गृहमन्त्री रहेकैबेला आफूले राजमार्गमा मदिरा बिक्री वितरणमा रोक लगाउने तयारी गरेको भए पनि तत्कालिन अर्थसचिवको अवरोधले प्रक्रिया अघि बढ्न नसकेको बताए ।