
काभ्रे, ४ पुस– काँग्रेस नेता एवम् हिन्दू राष्ट्र पुनस्र्थापना अभियानका संयोजक खुमबहादुर खड्काले धर्मनिरपेक्ष संविधान बने जलाउने चेतावनी दिएका छन् ।
‘सनातन हिन्दूराष्ट्र स्थापना महाअभियान’ को भेलालाई शुक्रबार सम्बोधन गर्दै खड्काले हिन्दूराष्ट्र नलेखिएको संविधान रत्नपार्कमा जलाउने चेतावनी दिएका हुन् ।
उनले नेपाललाई हिन्दू राष्ट्रय कायम नगराएसम्म आफूहरुको आन्दोलन नरोकिने उल्लेख गरे । ‘हामी नेपाललाई हिन्दूराष्ट्र घोषणा गरेरै छाड्छौं’, खड्काले भने, ‘हिन्दू राष्ट्रसहितको संविधान घोषणा नभए रत्नपार्कमा जलाउँछौँ ।’
उनले नेपालीहरुको गरिबी र अशिक्षाको फाइदा उठाएर डलरमा धर्म बेचिएको दाबी गरे । धर्म बेच्नेले देशै बेच्न सक्ने उनको आरोप छ । खड्काले आफ्नो पार्टी नेपाली काँग्रेसलाई धर्मनिरपेक्षतामा जाने निर्णय सच्याउन आग्रह पनि गरे । उनले उक्त गल्ती नसच्याए काँग्रेस पतन भएर जाने जिकिर गरे ।
कार्यक्रममा अर्का नेता तारानाथ रानाभाटले धर्मका नाममा भएको राजनीतिले मुलुकलाई द्वन्द्वमा धकेलेको आरोप लगाए ।