
काठमाण्डु, ४ पुस– पाकिस्तानको पेशावरस्थित एक सैनिक विद्यालयमा भएको हमलामा भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाईसिस विङ (रअ)को हात रहेको आरोपमा पाकिस्तानी सञ्चार माध्यमले लगाएका छन् ।
एक सय ५० भन्दा बढी स्कुले बालबालिकाको ज्यान जाने गरी बुधबार भएको उक्त हमलाको तालिवानी लडाकुले जिम्मेवारी लिएका थिए ।
तर पाकिस्तानी मिडियाले पाकिस्तानी गुप्तचरसंस्थालाई उदृत गर्दै तालिवानलाई घटना गर्न लगाउनेमा भारतीय गुप्तचर संस्थाको हात रहेको आरोप लगाएका छन् ।
पाकिस्तानको द न्यूज ट्राइब नामक अनलाइन पत्रिकाले पाकिस्तानी गुप्तचर अधिकारीको हवाला दिँदै घटनामा संलग्न भएकाहरुको फोन वार्ता इन्टरसेप्ट (खुफिया रुपले अरुको फोन ट्याप गर्ने प्रविधि) गरेको भन्दै त्यसमा भारतीय अधिकारीहरुको संलग्नता देखिएको बताएको छ ।
पाकिस्तानी सञ्चार माध्यमले लगाएको उक्त आरोपको भारतीय सञ्चार माध्यमले अस्वीकार गरेका छन् । उनीहरुले पाकिस्तानी सञ्चार माध्यमले झुठो ‘प्रोपोगान्डा’ मच्चाएको टिप्पणी गरेका छन् ।
भारतको दैनिक भाष्कर पत्रिकाले आफ्नो शीर्षकमा ‘पेशावर हमले के पीछे ‘रअ’ पाकिस्तान में तेज हुआ भारत का हाथ बताने का प्रोपेगैंडा’ भनेको छ ।
‘द न्यूज ट्राइब’ले आफ्नो मुख्य समाचारको शीर्षकमा ‘मेजर डेभलपमेन्ट इन पेशावर एटैक ः ‘रअ’ इन्भल्भमेन्ट फाउन्ड’ लेखेको छ ।
भारतीय सञ्चार माध्यमले हाफिज सईदद्वारा सैनिक विद्यालयमा भएको बालसंहारमा भारतको हात रहेको भनाइपछि भारतको नाम जोडेर पाकिस्तानी सञ्चार माध्यमले समाचार लेखिएको उल्लेख गरेका छन् ।
हाफिज पाकिस्तानी धार्मिक कट्टरपन्थी नेता हुन् । जसले पेशावर घटनाको केही दिनपछि घटनामा भारतको हात रहेको भन्दै बदला लिने चेतावनी दिएका थिए ।
यस विषयमा पाकिस्तानको आधिकारिक समाचार एजेन्सीले भने केही उल्लेख गरेको छैन । तर ‘न्यूज ट्राइब’ ले भने गुप्तचर संस्थाले पाकिस्तानी सेनाका प्रमुख रहिल सरिफलाई घटनामा ‘रअ’को संलग्नताको जानकारीसहितको दस्तावेज सुम्पिएको उल्लेख गरेको छ ।
उता भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार लोकसभालाई सम्बोधन गर्ने क्रममा मुम्बई हमलामा संलग्न जाकिर रहमान लखवीलाई पाकिस्तानले जमानतमा रिहा गरिएकामा आपत्ति जनाएका छन् ।