
काठमाण्डु, ४ पुस– पद्मरत्न तुलाधर नेतृत्वको आदिवासी जनजाति संयुक्त राष्ट्रिय आन्दोलनको अगुवाइमा शुक्रबार जनजातिहरुले काठमाण्डुमा प्रदर्शन गरेका छन् ।
पहिचानसहितको संघीयताको माग गर्दै माइतीघरदेखि नयाँबानेश्वरसम्म प्रदर्शन गरिएको हो ।
प्रदर्शनलाई ‘जनजाति मार्च पास’ नाम दिइएको थियो । मार्चपासको नेतृत्व तुलाधारसहित संघीय समाजवादी पार्टीका अध्यक्ष अशोक राई, नेपाल आदिवासी जनजाति महासंघका पूर्वमहासचिव ओम गुरुङ, जनजाति अगुवा मल्लके सुन्दरलगायतले गरेका थिए ।
प्रदर्शनपछि बानेश्वर चोकमा आयोजित कोणसभालाई सम्बोधन गर्दै तुलाधरले पहिचानसहितको संघीयता नदिन षड्यन्त्र भइरहेको बताए ।
आफूहरुको माग सम्बोधन नगरी जारी गरिएको संविधान स्वीकार्य नहुने र त्यसले मुलुकलाई निकास दिनुभन्दा थप संकटतर्फ लैजाने उनको भनाइ थियो ।
मार्चपासमा आदिवासी जनजाति अधिकारका क्षेत्रमा क्रियाशिल संघसंस्थाका प्रतिनिधि, विभिन्न राजनीतिक दल सम्बध जनजाति भातृ संस्थाका नेता कार्यकर्ताको सहभागिता थियो ।