पत्रकार बलात्कार गर्ने जेल गएकामा महासंघको स्वागत

काठमाण्डु टुडे २०७१ पुष ४ गते १०:५३ मा प्रकाशित

काठमाण्डु, ४ पुस– स्याङ्जामा सञ्चारमाध्यममा कार्यरत एक सञ्चारकर्मी युवतीमाथि भएको बलात्कारको मुद्दामा सर्वोच्च आदालतले पुस ३ गते गरेको फैसलाको नेपाल पत्रकार महासंघले स्वागत गरेको छ । महासंघले आज एक विज्ञप्ति निकाली उक्त फैसलाको स्वागत गरेको हो ।

सर्वोच्च अदालदतका न्यायाधीशद्वय गोविन्दकुमार उपाध्याय र देवेन्द्रगोपाल श्रेष्ठको इजलासले सञ्चारकर्मी युवतीमाथि जबर्जस्ती करणी गर्ने नेपाल टेलिकम स्याङ्जाका अधिकृत यादव घिमिरेलाई ५ वर्ष कैद र डेढ लाख क्षतिपूति भर्नुपर्ने फैसला गरेकोे छ । फैसलामा तोकिएको कैद सजाय र क्षतिपूर्ति भने निकै कम भएको महासंघले जनाएको छ ।

युवतीलाई २०६४ पुसमा घिमिरेले जागिर लगाइदिने बहानामा पोखरा लगेर बलात्कार गरेका थिए । घटनापश्चात २०६६ सालमा जिल्ला अदालतबाट पीडितले न्याय पाए पनि पुनरावेदन अदालत पोखराद्वारा पीडक घिमिरेले उन्मुक्ति पाएका थिए । बलात्कार गरेको आरोपमा ६ वर्ष जेल र डेढ लाख क्षतिपूति भराउनु पर्ने फैसालापछि जेल गएका घिमिरे २०६६ आश्विन २९ गते पुनरावेदन अदालतका तत्कालीन न्यायाधीशद्वय ओमप्रसाद सुवेदी र खेमराज शर्माको संयुक्त इजलासले सफाइ दिएपछि छुटेका थिए ।

पुनरावेदन अदालतको उक्त फैसालाविरुद्ध २०६६ फागुनमा सर्वोच्चमा मुद्दा दायर गरेको पाँच वर्षपछि पीडित सञ्चारकर्मीले न्याय पाएकी हुन् । मुद्दाको लामो समयसम्म फैसला नभएपछि महासंघले केही महिनाअघि तत्कालीन प्रधानन्यायाधीशलाई भेटी फैसलामा तदारुक्ता देखाउन ध्यानाकर्षण गरेको थियो ।

पटक–पटक सुनुवाइ रोकिँदै आएको उक्त मुद्दामा महासंघको कानुनी डेस्कबाट पनि पीडितलाई न्यायका लागि पहल गरिएको विज्ञप्तिमा जनाइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us