काठमाण्डु, ४ पुस– नेपालमा दैनिक चारवटा भूकम्प आउने गरेको छ ।
लोडसेडिङका कारण भूकम्प मापनसम्बन्धी उपकरण नियमितरुपमा सञ्चालन हुन नसक्दा भूकम्प मापनमा कठिनाइ भइरहेको छ ।
अतिजोखिम र संवेदनशील विनासकारी भूकम्प मापन गर्ने मुलुककै एकमात्र केन्द्रीय निकाय राष्ट्रिय भूकम्प मापन केन्द्र लैनचौरमा विद्युत्भार कटौतीले भूकम्प मापनको काम प्रभावित भएको हो ।
विद्युत कटौतीले विद्युतीय उपकरण २४ सै घण्टा चल्न सकेका छैनन् । बिजुलीसँगै इन्टरनेटको पनि उत्तिकै समस्या छ । दूरसञ्चारको नेटवर्क कमजोर हुँदा टेलिफोनको समस्या भइरहेको छ । भूँइचालो आए अटोमेटिक सिस्टमबाट केन्द्रमा टेलिफोनमार्फत जानकारी हुन्छ । केन्द्रमा जनशक्तिको पनि अभाव छ । हाल केन्द्रमा भूगर्भ र भूकम्प अध्ययन गरेका आठ जना मात्र कर्मचारी छन् ।
चौबीसै घण्टा सञ्चालन हुनुपर्ने उपकरणका लागि आवश्यक ऊर्जा तथा प्राविधिक जनशक्ति र साधन श्रोतको अभाव छ ।
भूकम्प मापन केन्द्रमा उपकरण पर्याप्त भएपनि त्यसलाई सञ्चालन गर्ने आवश्यक बिजुली, इन्टरनेत तथा दक्ष पर्याप्त जनशक्ति अभाव रहेको भूकम्प मापन केन्द्रका अधिकारीहरु बताउँछन् ।
बिदाका दिन र रातको समयमा घरबाटै कम्प्युटर प्रयोग (कनेक्सन) गरेर त्यसको प्रशोधन गरिन्छ । भूकम्प गएको आधा घण्टामा मात्र मापन प्रशोधन गरेर केन्द्रले जानकारी दिने गरेको छ ।
भूकम्पीय जोखिमको हिसावले नेपाल अति संवेदनशील क्षेत्रमा पर्छ । जनघनत्वका हिसावले काठमाण्डु सबैभन्दा जोखिम रहेको विज्ञहर बताउँछन् ।
विज्ञका अनुसार नेपालमा दिनमा तीनदेखि चारवटा चार रेक्टर स्केलसम्मका भूकम्प औसतमा गइरहेका हुन्छन् । नेपालको उच्च हिमाली फेदीमूनि १० देखि २५ किमिको गहिराइमा भूकम्प जाने गर्दछ । पाँच रेक्टरभन्दामाथिको भूकम्पले क्षति पुर्याउने गर्छ ।
नेपालमा २१ वटा भूकम्प संवेदन केन्द्र (सेस्मी स्टेसन) छन् । राष्ट्रिय भूकम्प मापन केन्द्र लैनचौर र भूकम्प मापन केन्द्र सूर्खेतबाट सेस्मी स्टेसनमार्फत आएका सङकेतको प्रशोधन गरी भूकम्प मापन गरिन्छ ।
काठमाण्डु पश्चिम प्युठानदेखि पूर्वीभेगका १२ वटा स्टेसनबाट रेकर्ड हुन्छ । त्यस्तै पश्चिममा रहेका नौवटा स्टेसनबाट सूर्खेतमा रेकर्ड हुन्छ ।
भूकम्प मापनका २४ सै घण्टा उपकरण अटोमेटिक भूकम्पन रेकर्ड गरिरहेका हुन्छन् । चार रेक्टर स्केलभन्दा ठूला नेपाल तथा नेपाल नजिकमा गएमा यहाँ रहेका उपकरणले जिम्मेवार विशेषज्ञलाई फोन गरेर जानकारी दिन्छन् । यदि उक्त भूकम्प ४.५ रेक्टर स्केलभन्दामाथिको छ भने गृह मन्त्रालयलगायत अन्य सरोकार राख्ने निकाय तथा मिडियालाई फोनबाट जानकारी दिने गरिएको केन्द्रले जनाएको छ ।
भूकम्पविद् रमेश पाण्डेले दिनमा पटक–पटक भूकम्प जाने गरे पनि साढे चार रेक्टर स्केलको भूकम्पले मात्र जमिन हल्लाउने भएकाले मापन केन्द्रले त्यसको रेकर्ड राख्ने गरेको बताए ।