
कञ्चनपुर, ४ पुस– विवाह गर्ने प्रलोभनमा पारेर आफ्नै फूपूको छोराले गर्भवती बनाइ भागेपछि अलपत्र परेककी कञ्चनपुरको कृष्णपुर– १ की १४ वर्षीया किशोरीलाई स्थानीय ३३ वर्षीय युवकले श्रीमतीका रुपमा राखेर सहारा दिएका छन् ।
स्थानीय विद्यालयमा ८ कक्षामा पढ्दै गरेकी किशोरीलाई उनकै फूपूको छोराले गर्भवती बनाइ अलपत्र छाडेको हो । भारतको गुजरात प्रान्तको धुरा भन्ने ठाउँमा बस्दै आएका मोहनसिंह धामीले किशोरीलाई फकाएर शारीरिक सम्बन्ध राखी बच्चा जन्मिएपछि ‘मेरो कुनै सम्बन्ध छैन’ भनी छाडेका थिए । अहिले ३३ वर्षीय प्रभुनारायण चौधरीले बच्चासहित किशोरीलाई श्रीमती स्वीकार्ने गरी घरमा ल्याएर राखेका छन् ।
‘फूपूको घरमा जाँदा धामीले विवाह गर्छु भनेर शारीरिक सम्बन्ध राखेको हो’, पीडित किशोरीले भनिन्, ‘घरमा आमाले बस्न नदिएपछि सहारा खोज्दै यहाँ बसेकी छु ।’
‘किशोरीलाई पीडामा परेको देखेपछि छोराले जन्मिएको शिशुसहित स्वीकार्ने गरी राखेका छन्’, प्रभुनारायणकी आमा बसन्ती चौधरीले भनिन्, ‘उनलाई कुनै दुःख नदिई पाल्छौ ।’ पीडित किशोरीले गर्भवती भएको समयमै थाहा नपाउँदा समस्या भोग्नुपरेको बताइन् ।
मंसिर २८ गते शिशु जन्मिएपछि आमाले घरमा बस्न नदिएको किशोरीको भनाइ रहेको छ । बेसहरा बनेपछि चौधरी परिवारले उनलाई घरमा राखेका छन् । किशोरीले भनिन्, ‘अन्यत्र कोही सहारा छैन, कहाँ गएर बस्नु ? अब यही ठीक छ ।’
किशोरीका बुबा भारतमा मजदुरीका लागि गएका छन् । किशोरीलाई प्रलोभनमा पारेर बच्चा जन्माउने धामीमाथि कारबाही हुनुपर्ने माग स्थानीय बासिन्दाले गरेका छन् ।