
उदयपुर, ४ पुस– लामोदूरीको यात्रामा सवारी चालकको थकान तथा तनावको कारण सवारी दुर्घटना हुने क्रम बढ्दै गएपछि उनीहरुलाई विश्राम गर्न सिद्धिचरण लोकमार्गअन्तर्गत सिरिसेको बेतेनीमा पहिलोपटक ताजगी केन्द्रको स्थापना गरिएको छ ।
उदयपुरको कटारी हुँदै बेतेनी तथा घुर्मी भएर ओखलढुंगा तथा खोटाङ जिल्लासम्म सञ्चालन हुने लामा दूरीका सवारीसाधनका चालकका लागि केही समय भए पनि आराम गर्न र फ्रेस हुन बेतेनीमा ताजगी केन्द्रको स्थापना गरेको कुरा हिमाली यातायात व्यवसायी संघ कटारीले बताएको छ ।
पुस २ गतेदेखि बेतनीमा औपचारिक रुपमा ताजगी केन्द्र सञ्चालनमा ल्याइएको कुरा हिमाली यातायात व्यवसायी संघ कटारीका प्रमुख शत्रुधन कार्कीले बताए ।
केन्द्रमा भौतिक पूर्वाधार पूर्णरुपमा तयार नभएसम्म बेतेनी बजारका स्थानीयवासीले सवारी चालक तथा यात्रुलाई समेत शौचालय, पानी प्रयोग गर्न दिने र खाजानास्ताको समेत व्यवस्था गर्ने भएका छन् ।
निकट भविष्यमै स्थानीय गाविस तथा हिमाली यातायात व्यवसायी संघ कटारीको पहलमा आराम गर्ने घर तथा छुट्टै खानेपानीको धारा र शौचालयको व्यवस्था गर्न लागिएको बताइएको छ ।
अब सिद्धिचरण लोकमार्गअन्तर्गत सञ्चालन हुने साना तथा ठूला जुनसुकै सवारीका साधनले पनि दैनिक रुपमा सिरिसेको बेतेनीमा कम्तीमा पनि पाँच मिनेटसम्म सवारी रोकेर चालकसहित यात्रुले समेत आराम गर्नुपर्ने अनिवार्य व्यवस्था गरिएको छ ।
ताजगी केन्द्रको नियम नमान्ने सवारीका चालकलाई कारबाही गरिने प्रावधानसमेत रहेको कुरा इलाका प्रहरी कार्यालय कटारीले बताएको छ । रासस