चिनियाँ प्रधानमन्त्रीको थाई भ्रमणमा रेलमार्ग निर्माण सम्झौता हुने

काठमाण्डु टुडे २०७१ पुष ४ गते १०:०४ मा प्रकाशित

 

बैंकक, ४ पुस– चिनियाँ प्रधानमन्त्री कि केकियाङले थाइल्याण्डमा कृषि र यातायातसम्बन्धी केही सम्झौता गर्ने भएका छन् ।

li

उनले शुक्रबार राजधानी बैंककमा सो सहयोगसम्बन्धी सम्झौता गर्ने कार्यक्रम तय भएको अधिकारीहरुले समाचारमा जनाएका छन् ।

थाइल्याण्डको जुन्ता सरकारले हालैका दिनमा विदेशी सहायताको अपेक्षा गरिरहेका बेला चीनले यो नयाँ आर्थिक सहयोग र सम्झौताका लागि तयार भएको समाचारमा उल्लेख छ ।

थाई सैनिकले त्यहाँ सत्ता आफ्नै हातमा लिएपछि विदेशी सहायता कमैमात्र आएको छ । संयुक्त राज्य अमेरिका र युरोपेली युनियनले थाई सरकारसँग प्रजातान्त्रिक सुधारको माग गरेका छन् ।

थाई सरकारका प्रवक्ताले दिएको जानकारीअनुसार प्रधानमन्त्रीको भ्रमणका क्रममा चीनको दक्षिणपश्चिमी सहर कुनमिङसँग जोडिनेगरी निर्माण हुने करिब एक हजार चार सय किलोमिटर रेलमार्ग निर्माणका लागि सो सम्झौता हुनेछ ।

उक्त रेलमार्गले सिङ्गापुरमा रहेको एसियाकै दोस्रो सबैभन्दा व्यस्त बन्दरगाहलाई पनि लक्ष्य बनाउने छ । उक्त बन्दरगाहसँग सबैभन्दा नजिक हुनेगरी रेलमार्ग निर्माण हुने बताइएको छ ।

चिनियाँ प्रधानमन्त्री लि र थाई सैनिक सरकार प्रमुख प्रयुत चान ओचाबीच सो सम्झौतापत्रमा हस्ताक्षर हुनेछ । उक्त सम्झौताले आगामी दिनमा यी दुई देशमा सामूहिक लगानीका लागि मार्ग प्रशस्त हुने बताइएको छ ।

अर्काे रेलमार्ग थाइल्याण्डको उत्तरी सहर नोङ्खामा निर्माण गरिने छ । उक्त सहरमा करिब चार सय ७० किलोमिटर लामो रेलमार्ग निर्माण हुने बताइएको छ ।

थाई सरकारले रेलमार्गको निर्माण एक महत्वपूर्ण मुद्दा रहेको बताएको छ । चीनको यो सहयोगले आगामी दिनमा द्विपक्षीय सम्बन्ध विस्तार थप सुमधुर बनाउने अधिकारीहरुले बताएका छन् ।

यी दुवै रेलमार्ग निर्माणको काम आगामी वर्षबाटै सुरु हुने र आगामी सन् २०२२ मा पूरा भइसक्ने बताइएको छ ।

थाइल्याण्डमा हाल सैनिक सरकार रहेको छ । सो सैनिक सरकारलाई जतिसक्दो चाँडै निर्वाचन गराई प्रजातान्त्रिक सरकार बनाउने काम थाल्न विदेशी राष्ट्रले दबाब दिइरहेका छन् ।

त्यसैले चिनियाँ प्रधानमन्त्रीको यो उच्चस्तरको भ्रमणलाई थाइल्याण्डले निकै महत्वका साथ हेरेको छ । त्यहाँ सैनिक सरकारले सत्ता हात लिएपछि यो नै सबैभन्दा ठूलो विदेशी सहायता भएको बताइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us