
म्याग्दी, ४ पुस– केही वर्षअघिसम्म मंसिर–पुस महिनामा पाखैभरि लालुपाते फुलेर राताम्य हुने गरेका म्याग्दीका उच्च पहाडी र तल्लो क्षेत्रमा दुई वर्षयता फुल्नै छोडेको छ ।
माटोमा अम्लीयपना बढ्नाका साथै तापक्रम वृद्धिको असरका कारण फूल फुल्ने र बाली पाक्ने समयमा समेत परिवर्तन आउन थालेपछि यस्तो समस्या देखिएको वन तथा वातावरणको क्षेत्रमा काम गर्ने व्यक्तिहरुले बताएका छन् ।
म्याग्दीका ज्यामरुककोट, शिख, हिस्तान, भकिम्लीलगायतका क्षेत्रमा रहेका लालुपातेका बोटमा अहिलेसम्म फूल फुलेको छैन । ‘यो समयमा लालुपातेको बोटमा फूल फुलेर राताम्य देखिनुपर्ने हो, तर अहिले त पातमात्र देखिन्छन्, फूल फुलेकै छैन’, ज्यामरुककोटका नरबहादुर थापाले बताए ।
जिल्ला कृषि विकास कार्यालय म्याग्दीका अनुसार जिल्लाको माटोमा अम्लीयपनाको मात्रा बढ्दै गएको छ । माटोमा अम्लीयपना बढेका कारण जिल्लामा बाली पाक्ने र फूल लाग्ने समयसमेत पछि धकेलिँदै गएको हुन सक्ने जिल्ला कृषि विकास कार्यालय म्याग्दीका वरिष्ठ कृषि विकास अधिकृत वसन्तकुमार श्रेष्ठले बताए ।
रासस