
काठमाण्डु, ४ पुस– होचापुड्का उत्थान समाजले खोलेको क्याफेको उद्घाटन अनाथ बालबालिकाको हातबाट गराइएको छ ।
बुढानीलकण्ठमा सञ्चालनमा ल्याउन लागिएको होचापुड्का क्याफे एन्ड रेस्टुराँको उद्घाटन नेपाल आत्महत्या रोकथाम एवम् मानसिक स्वास्थ्य अनुसन्धान केन्द्रद्वारा सञ्चालित बालगृहमा रहेका ११ बालबालिकाले सामूहिक रुपमा गरेका हुन् । रोस्टुराँको उद्घाटनपछि उनीहरुलाई भोजनसमेत गराएको छ ।
नेपाल सरकारको युवा स्वरोजगार कार्यक्रम र भञ्ज्याङ चौतारी बचत तथा ऋण सहकारी संस्थाको सहयोगमा छ लाख रुपैयाँ लगानीमा उक्त रेस्टुराँ खोलिएको समाजका संरक्षक सकुल शाहले बताए ।
होचापुड्कालाई हेप्ने, अपहेलना गर्ने व्यवहारबाट आजित भएर आफूहरुले पनि केही गर्न सक्छौं भनेर देखाउन यो रेस्टुराँ खोलेको शाहको भनाइ छ । रेस्टुराँमा नुवाकोट, धादिङ, पोखरालगायत स्थानका २३ होचापुड्का व्यक्ति संलग्न छन् । होचापुड्काहरुलाई सरकारले ‘ग’ वर्गको अपांगताभित्र राखेको छ ।
अनुसन्धान केन्द्रका अध्यक्ष प्रेम परियारले अनाथ बालबालिकालाई मौका दिएर रेस्टुराँको उद्घाटन गराइनु प्रशंसनीय भएको बताए । रासस