
काठमाण्डु, ४ पुस– एमाओवादी अध्यक्ष प्रचण्ड नेतृत्वको संघीय लोकतान्त्रिक गठबन्धनले संवैधानिक समितिमा पेश गरेको नौ बुँदे प्रस्ताव फिर्ता लिन काँग्रेस–एमालेलाई आग्रह गरेको छ ।
गठबन्धनको शुक्रबार बसेको बैठकले प्रस्ताव फिर्ता नलिए सडक र सदनमार्फत आन्दोलनमा उत्रने चेतावनी दिएको छ ।
विगतका सम्झौता र प्रतिबद्धताअनुसार सहमतिमै संविधान निर्माण गर्नुपर्ने ठहर गठबन्धनको छ । सदभावना सह–अध्यक्ष लक्ष्मणलाल कर्णले काँग्रेस–एमालेलाई नौ बुँदे फिर्ता लिन आग्रह गर्ने र नमाने आन्दोलनमा जाने निष्कर्ष निकालिएको काठमाण्डु टुडेलाई बताए ।
‘नौ बुँदे प्रस्ताव विगतका सहमति र प्रतिबद्धताविपरीत छ’, कर्णले भने, ‘यदि उनीहरु मान्न तयार देखिएनन् भने आन्दोलनमा जाने भन्ने भएको छ ।’ कर्णका अनुसार बैठकले आन्दोलनको खाका तय गर्ने जिम्मेवारी सचिवायललाई दिएको छ ।
उनले शनिबार संविधानसभामा प्रतिनिधित्व गर्ने विपक्षी १९ दलको बैठक बोलाइएको जानकारी पनि दिए ।