
धनगढी, ४ पुस– नेपाली काँग्रेसका युवा नेता एवम् सभासद् पुष्करनाथ ओझाले सेती अञ्चल अस्पताल धनगढीमा सघन उपचार कक्ष स्थापनाका लागि संसद क्षेत्र विकास कार्यक्रममार्फत १० लाखको सहयोग गर्ने घोषणा गरेका छन् ।
बिहीबार सुदूरपश्चिमाञ्चल औद्योगिक, कृषि, पर्यटन र व्यापार मेलाको समापन समारोहमा शुक्रबार उनले उक्त घोषणा गरेका हुन् ।
समारोहमा विभिन्न क्षेत्रका व्यक्तिले पनि सघन उपचार कक्ष स्थापनाका लागि नगद सहयोग गरेको जानकारी गराइएको थियो ।
मेला आयोजक कैलाली उद्योग वाणिज्य सङ्घले मेलामा टिकट बिक्रीबापत प्रतिटिकटबाट अस्पतालका लागि दुई रुपैयाँ छुट्याइएकोसमेत गरी करिब रु २५ लाख सङ्कलन भएको जनाएको छ ।
सरकारले अञ्चल अस्पतालमा सघन उपचार कक्ष स्थापनाका लागि यस वर्ष रु एक करोड रकम विनियोजन गरेको छ । रासस