हराइरहेका २२ नेपाली भारतीय कारागारमा रहेको आशंका

काठमाण्डु टुडे २०७१ पुष ४ गते ६:५९ मा प्रकाशित

जनकपुर, ४ पुस– भारतको सतलोक आश्रममा हराइरहेका २२ नेपालीमध्ये एक जना भारतको हिसार (हरियाणा) चन्डिगढको कारागारमा रहेको परिवारजनले जनाएका छन् ।

गत कात्तिक २८ गतेदेखि मङ्सिर २ गतेसम्म सो आश्रममा भएको प्रहरी कारबाहीपछि उनीहरुको अवस्था अज्ञात रहेकोमा पीडित परिवारद्वारा खोजतलासका क्रममा एकजनालाई कारागारमा भेटेको बताएका छन् ।
पीडित परिवारका निर्गुणकुमार महतोले आफ्नो भाइ गणेश महतोको खोजतलासका क्रममा सो कारागारमा भेट्न पाएका छन् ।

उनका अनुसार कारागारका प्रमुखलाई आफ्नो भाइको सन्दर्भमा बुझ्न खोज्दा भाइको अनुसन्धान भइरहेको र अदालतको निर्णय आएपछि मात्रै केही भन्न सकिने अवस्था रहेको जानकारी दिइएको छ ।

धार्मिक उद्देश्यले सो आश्रममा जाँदा आफ्नो भाइलगायत अन्यलाई पनि कारागारमा बन्दीसरह राखिएको सम्भावनातर्फ भारतको नयाँ दिल्लीस्थित नेपाली राजदूतावासको पदाधिकारीलाई ध्यानाकर्षण गराउँदा कुनै पहल नगरिएको बताउँदै उनले आफ्नो भाइलगायत अन्य नेपालीको रिहाइ र जीवन रक्षाका लागि अनुरोध गरे ।

सो आश्रममा गएका सिरहाका छजना, धनुषाका चार, रौतहतटका दुई जना, महोत्तरीका एक जना, काठमाण्डुका दुई जना, सुन्सरीका दुई जना, मोरङका एक जना, कन्चनपुरका एक जना, भक्तपुरका एक जना र बर्दियाका एक जना हराइरहका छन् । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us