हिमपातले जुम्ला–डोल्पा सडक ठप्प

काठमाण्डु टुडे २०७१ पुष ४ गते ५:०६ मा प्रकाशित

डोल्पा, ४ पुस– डोल्पामा गत सोमबारदेखि लगातार दुई दिनसम्म परेको हिमपातले गर्दा डोल्पा जुम्ला बाटो बन्द भएको छ ।
लगातार परेको हिमपातले गर्दा डोल्पामै सबैभन्दा उचाइमा रहेका मौरे लेक र बलाङरा लेकमा चारफिट सम्म हिँउ जमेपछि बाटो बन्द भएको हो ।
लेकमा हिउँ जम्दा पैदलयात्रा गर्न असहज हुनुका साथै खुट्टा भासिने, अत्यधिक चिसो हुने गरेकाले यो समयमा हिँड्न नसकिने स्थानीयवासी गोकर्ण कठायतले बताए ।
यसैबीच त्रिवेणी नदीमा लगाइएको पुल भाँचिदा सर्वसाधारण तथा ओहोरदोहोर गर्ने बटुवालाई सास्ती भएको छ ।
कर्णाली प्राविधिक शिक्षालय जुम्लामा पढ्न जाने विद्यार्थी तथा विभिन्न सरकारी तथा गैरसरकारी कामकाजका लागि अञ्चल कार्यालय जुम्लामा जाने सर्वसाधारणलाई असहज भएको छ ।
बीस वर्षअघि बनाएको उक्त खम्बे पुल भाँचिएपछि जुम्लाबाट डोल्पाका लागि दैनिक उपभोग्य सामान ढुवानी गर्न तथा एक जिल्लाबाट अर्को जिल्ला ओहोरदोहोर गर्न पनि असहज भएको सर्वसाधारणले बताएका छन् ।

कोही ज्यानलाई जोखिममा पार्दै भाँचिएकै पुल तर्न बाध्य छन् भने कोही जाडोको समयमा पनि मुस्किलले खोला तर्न बाध्य छन् । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us