
काठमाण्डु, ४ पुस– आतंकवादी क्रियाकलापमा संलग्न रहेको आरोपमा पक्राउ परेका ५ व्यक्तिलाई छाड्न एक संस्थाले ४८ घण्टे अल्टिमेटम दिएको छ ।
‘कल्की फाउण्डेशन नामक संस्थाका प्रमुख युनुस अलगोहरले एक भिडियो सन्देश जारी गर्दै पक्राउ परेका आफ्ना सदस्यलाई ४८ घण्टाभित्र छाड्न अल्टिमेटम दिएका हुन् ।
प्रधामनमन्त्री सुशील कोइरालालाई सम्बोधन गरी युट्युबमा राखिएको ३३ मिनेट लामो उक्त भिडियोमा आफ्ना सदस्यलाई संयुक्त राष्ट्रसंघीय मानवअधिकार आयोगमार्फत बुझाउन भनिएको छ ।
उनले आतंकवादी आरोपमा पक्राउ परेका सबै आध्यात्मिक गतिविधिबाहेक अन्य क्रियाकलापमा संलग्न नरहेको दाबी गरेका छन् ।
उनले शुद्ध पानी पिउन नपाएका नेपालका नागरिक मुटु, किड्नीलगायत रोगबाट पीडित हुने गरेको र उनीहरु आफ्नो संस्थामा उपचारका लागि आउने गरेको भन्दै आतंकवादी गतिविधिको आरोप लगाउनु गम्भीर भएको उल्लेख गरेका छन् ।
कल्की फाउन्डेसनका नाममा आतंकवादी क्रियाकलाप हुने गरेको भन्दै प्रहरीले पाँच पाकिस्तानीसहित २० जनालाई गत २० मंसिरमा राजधानीबाट पक्राउ गरेको थियो ।
उनीहरुले पशुपतिमा विस्फोट गराउन लागेको हल्ला चलाएका थिए । फाउण्डेशन अध्यक्ष अलगोहरलाई पाकिस्तानी अदालतले मुत्यु दण्डको फैसला सुनाएको छ ।
उनी हाल बेलायतमा भूमिगत अवस्थामा छन् ।