प्रचण्डले निर्वाचन धाँधली नगरेको ठहर

काठमाण्डु टुडे २०७१ पुष ४ गते ४:०८ मा प्रकाशित

prachandaकाठमाण्डु, ४ पुस– संविधानसभा अदालतले संविधानसभाको दोश्रो निर्वाचनमा  सिराहा–५ बाट निर्वाचित एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निर्वाचन परिणाम बदर नहुने फैसला गरेको छ ।

न्यायाधीशहरु कल्याण श्रेष्ठ, गिरीशचन्द्र लाल र सुशीला कार्कीको इजलासले प्रचण्डले निर्वाचन धाँधली गरेको भन्ने दाबीसहित परेको रिट खारेज गरेको हो ।

प्रचण्डका निकटतम प्रतिद्वन्द्वी एमाले उम्मेदवार लीलानाथ श्रेष्ठले निर्वाचन कसुर र सजाय ऐन–२०६३ को २७ बमोजिम निर्वाचन परिणाम बदरको माग गरी पुन: निर्वाचनको माग गर्दै रिट दायर गरेका थिए ।
‘कानुनबमोजिम मतदान सम्पन्न हुँदासम्म मतदान केन्द्र कब्जालगायतका कुनै उजुरी दर्ता हुन नसकेको, मतगणनामा उजुरीकर्ता सहभागी भएको देखिएको तर निर्वाचित विपक्षी नेता दाहालको निर्वाचन परिणाम बदर गराउने माग गर्न नसकेकाले मागबमोजिम निर्वाचन बदर गर्ने अवस्था रहेन त्यसैले प्रस्तुत उजुरीमा लिइएको जिकिर पुग्न सक्दैन’, फैसलामा भनिएको छ ।

प्रमुख प्रतिपक्षी उम्मेदवार श्रेष्ठले उक्त क्षेत्रको कल्याणपुर कालाबञ्जर प्रावि (क) र (ख), बडहरामाल निमावि भुल्किया (क) र (ख) तथा बडहरामाल प्रावि (क) र (ख) को मतदान केन्द्रमा विपक्षीले अनधिकृतरपमा कब्जा गरी बलजफ्ती मतदान गरेर धाँधली गरेकाले ती मतदान केन्द्रको निर्वाचन रद्द गरी पुन: निर्वाचन गराउन माग गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us