
दाङ, ४ पुस– प्रगतिशील लेखक संघ नेपाल दाङ शाखाले यस वर्षको प्रगतिशील साहित्य पुरस्कार अग्रज साहित्यकार गिरीराज शर्मालाई प्रदान गरेको छ ।
संघको २२ औं स्थापना दिवसको अवसरमा बिहीबार घोराहीमा आयोजित कार्यक्रममा उक्त पुरस्कार प्रदान गरिएको हो ।
त्यस्तै प्रलेस दाङ शाखामा स्थापित चिन्तामणि–जमुना साहित्य पुरस्कार साहित्यकार अमर गिरी, अनन्त–टीका प्रतिभा पुरस्कार साहित्यकार नवीन विभास, गोविन्द चिस सर्जक पुरस्कार साहित्यकार भानु जिएम र गोविन्द ज्ञवाली साहित्य पुरस्कार साहित्यकार आस्था केसीलाई प्रदान गरिएको छ ।
त्यस्तै प्रलेस सम्मान–२०७१ अग्रज साहित्यकार÷पत्रकार टीकाराम रेग्मीलाई प्रदान गरिएको छ । कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ साहित्यकार नारायणप्रसाद शर्मा र विशिष्ट अतिथि प्रलेस नेपालका केन्द्रीय उपाध्यक्ष हीरामणि दुःखी र शशिधर भण्डारीले माल्यार्पण एवं प्रमाणपत्र प्रदान गरी पुरस्कृत गरेका थिए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि वरिष्ठ साहित्यकार नारायणप्रसाद शर्माले प्रगतिवादी कलासाहित्यले समाज रूपान्तरणमा अपेक्षाकृत प्रगति नभएको भन्दै प्रगतिशील अभियन्ताको आदर्श र जीवन व्यवहारमा तादात्म्यता मिलाउन जरुरी रहेको बताए ।