
चितवन, ४ पुस– पूर्वी चितवनको लोथर गाविसका विभिन्न क्षेत्रमा लगाइएको गाँजाखेती प्रहरीले नष्ट गरेको छ । लोथर–१ को तान्द्राङ र ३ को हुम्पुङमा गरी साढे आठ बिगाहा जग्गामा लगाइएको गाँजाखेती नष्ट गरेको इलाका प्रहरी कार्यालय भण्डारा चितवनले जनाएको छ ।
तान्द्राङमा पाँच बिगाहा र हुम्पुङमा साढे तीन बिगाहा जग्गामा व्यावसायिक रुपमा लगाइएको गाँजा नष्ट गरेको कार्यालयका प्रहरी निरीक्षक माधव खरेलले बिहीबार जानकारी दिए । प्रहरी निरीक्षक खरेलको नेतृत्वमा दंगा नियन्त्रण प्रहरी गण हेटौंडाका ४० सहित ५० जनाको टोलीले उक्त क्षेत्रको गाँजा नष्ट गरेको हो । व्यावसायिक रुपमा गाँजा खेती गरिएको जानकारी पाएपछि प्रहरीको टोली गाँजा खेती नष्ट गर्न सो क्षेत्रमा परिचालन गरिएको थियो ।
गत वर्ष पनि इलाका प्रहरी कार्यालयबाट गएको एक टोलीले लोथर गाविसमै करिब तीन बिगाहा जग्गा लगाइएको गाँजा नष्ट गरेको थियो । बर्सेनि प्रहरीले सो क्षेत्रमा गाँजा खेती नष्ट गर्दै आए पनि नियन्त्रण भने हुन सकेको छैन । सोही क्षेत्रबाट गाँजा, चरेसको समेत तस्करी हुँदै आएको बताइएको छ । तस्करहरुले स्थानीय किसानलाई माध्यम बनाएर खेती गर्ने गरेको बताइएको छ ।
गाँजाको विकल्पमा तरकारी खेती गर्ने सरकारी योजनासमेत प्रभावकारी बन्न सकेको छैन । मकवानपुर र चितवनको सीमा क्षेत्रमा प्रहरीले पकट–पटक तयारी गाँजा र तस्करमा संलग्न व्यक्तिहरुलाई पक्राउ गर्दै आएको छ ।