जाडो भयो प्रहरी दाइ ? धन्दा नमान्नुस्, चैतमा ज्याकेट आउँदै छ

काठमाण्डु टुडे २०७१ पुष ४ गते २:३४ मा प्रकाशित

काठमाण्डु, ४ पुस–जनधनको सुरक्षार्थ खटिने १५ हजार प्रहरीले यो वर्ष जाडोमा ज्याकेटबिना ड्युटी गर्नुपर्ने भएको छ ।  दैनिक १२ घन्टाभन्दा बढी खटिने प्रहरीले चैत लागेपछि मात्र ज्याकेट पाउने भएका छन् ।

logo-nepal-police

स्रोतका अनुसार जाडो बढेसँगै देशभरका प्रहरी कार्यालय करिब १५ हजार थान ज्याकेट माग्दै प्रधान कार्यलयमा ताकेता गरिरहेका छन् । तर, प्रधान कार्यालयले ज्याकेट नभएको जबाफ फर्काउने गरेको छ ।

प्रधान कार्यालयले ज्याकेट नदिएपछि प्रहरीले ड्युटीमा खटिने बेला एउटै ज्याकेट पालैपालो लगाउने गरेका छन् । केहीले चिसोबाट बच्न ड्रेस बाहिरको ज्याकेट लगाउने गरेका छन् ।

गत वर्ष ६ हजार १ सय जवानसहित करिब ६ हजार ५ सय प्रहरी भर्ना भएका थिए । उनीहरुमध्ये कसैले पनि ज्याकेट पाएका छैनन् ।

त्यस्तै, नयाँ ज्याकेट लिने अवधि पुगेका प्रहरीले पनि ज्याकेट नपाएको स्रोतको भनाइ छ । हरेक ४ वर्षमा प्रहरीलाई नयाँ ज्याकेट दिने गरिन्छ । त्यसअनुसार यो वर्ष करिब १० हजार प्रहरीले नयाँ ज्याकेट पाएका छैनन् । कतिपय प्रहरीले ६ वर्ष पुग्दा पनि ज्याकेट पाउन सकेका छैनन् ।

प्रहरी प्रवक्ता डिआइजी माधव जोशीले प्रहरीलाई कति ज्याकेट अभाव भएको भन्ने तथ्यांक आफूसँग नभएको बताउँछन् ।

नयाँ पत्रिका दैनिक

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us