कास्की, ३ पुुस–नेपालको प्रमुख पर्यटकीय गन्तब्य पोखरामा वार्षिक कति पर्यटक आउँछन् भन्ने तथ्याङ्क राख्न छाडिएको छ ।
वार्षिक रुपले पोखरा भित्रने पर्यटकको तथ्याङ्क राख्दै आएको पर्यटन कार्यालय पोखराले कर्मचारी अभाव देखाउँदै तथ्याङ्क संकलन गर्न छाडेपछि यो अवस्था आएको हो । कार्यालयले सन् २०११ सम्म पोखरा आउने वार्षिक पर्यटकको तथ्याङ्क राख्ने गरेको थियो ।
पर्यटन कार्यालय पोखराका प्रमुख खेमवहादुर थापाले पर्यटकको तथ्याङ्क लिने प्रणाली नै नभएको बताउँदै कर्मचारी अभावमा पनि यस्तो अवस्था आएको बताए ।
नेपाल पर्यटन वोर्डका सदस्य टीकाराम सापकोटाले केन्द्रमा पर्यटकको तथ्याङ्क राख्ने प्रणाली भए पनि पोखरामा भने त्यस्तो नहुनु दुर्भाग्यपूर्ण भएको बताए । पहिला पोखरा आउने पर्यटकको तथ्याङ्क लिने गरिएको भए पनि हाल त्यस्तो तथ्याङ्क लिने प्रणाली नहुँदा पर्यटन प्रवद्र्धनका योजना बनाउन, शोधकर्ता तथा योजनाविद्हरुका लागि समेत समस्या परेको सापकोटाको भनाइ छ ।
तथ्याङ्क अभावमा पोखरामा कुन कुन देशका पर्यटक कति संख्यामा आउँछन् र उनीहरुको रुची तथा खानपान तथा सुरक्षा लगायत पूर्वाधार विकासको पक्षलाई कसरी समेट्ने भन्ने अनुमान गर्न गाह्रो पर्ने गरेको छ । सापकोटाका अनुसार पोखरामा तीन लाख विदेशी र तीन लाख आन्तरिक पर्यटक वार्षिक रुपमा आउने गरेको अनुमान छ ।
सन् २०११ भन्दा पहिला पनि कार्यालयले उपलब्ध गराउँदै आएको तथ्याङ्क हचुवाका भरमा उपलब्ध गराउने गरेको थियो । पोखराका होटेलमा बास बसेका पर्यटकको तथ्याङ्कलाई नै कार्यालयले आधिकारिकता दिने गरेको थियो । पोखरामा रहेका करिव पाँच सय भन्दा बढी पर्यटकीयस्तरका होटेलमध्ये केहीले दिएको तथ्याङ्कको आधारमा पर्यटकको आगमन तथ्याङ्क तयार पार्दा प्रभावकारी हुन सकेको थिएन ।
नेपाल पर्यटन बोर्ड र पर्यटन कार्यालय पोखराले सहकार्य गरेर तथ्याङ्क राख्ने प्रणाली विकास गर्नसके राम्रो हुने पोखरा पर्यटन परिषद्का अध्यक्ष सूर्यवहादुर भुजेलले बताए । तथ्याङ्क राख्ने प्रणाली छिटै विकास हुनेमा आफू आशावादी भएको उनको भनाइ छ ।
तर हालसम्म कुनै पनि नाका र ठाउँबाट पोखरा भित्रने पर्यटकको तथ्याङ्क राख्ने गरिएको छैन । एक वर्ष अघि पश्चिमाञ्चल क्षेत्रीय प्रहरी कार्यालय पोखराको विशेष सक्रियता र पश्चिमाञ्चल होटल सङ्घ पोखराको पहलमा विदेशी पर्यटकको तथ्याङ्क राख्ने प्रक्रिया अगाडि बढाइएको भए पनि त्यो हाल रोकिन पुगेको छ । रासस