
मोरङ, ३ पुस–सामूहिक बलात्कारमा संलग्न एक बालकसहित तीनजनालाई १० वर्षको कैद सजाय सुनाइएको छ ।
गत जेठ १७ गते मोरङको लेटाङ गाउँ विकास समिति वडा नं. ९ स्थित चिसाङ खोलामा भोगटेनीकी ३६ वर्षीया एक महिलालाई बजारबाट घर फर्कंदै गर्दा सामूहिक बलात्कार गर्ने १४ वर्षीय एक बालकसहित तीनजनालाई मोरङ जिल्ला अदालतले १० वर्ष कैद सजाय दिएको हो ।
मोरङ जिल्ला अदालतका न्यायाधीश ऋषिराम निरौलाको इजलासले पुस २ गते बुधबार लेटाङ गाविस वडा नं. ९ लामिटारका २० वर्षीय लक्ष्मण लिम्बू, सोही ठाउँका २४ वर्षीय नटबहादुर लिम्बू र १४ वर्षीय ‘च’लाई जनही १० वर्ष कैदसहित पीडितलाई जनही ५० हजार क्षतिपूर्ति भराउने सजाय सुनाएको हो ।
मुद्दाको अभियोग पत्रमा उल्लेख भएअनुसार श्रीमान् वैदेशिक रोजगारमा गएपछि घरमा तीन छोराछोरीसँगै बस्दै आएकी महिलालाई जेठ १७ गते साँझ ७ बजे लेटाङबजारबाट घर फर्कंदै गर्दा खोलामा साङ्घातिक आक्रमण गरी अभियुक्तहरुले महिलालाई स्थानीय चिसाङ खोलाको पानीमा चोबल्दै सामूहिक बलात्कार गरी कसैले भनेमा ज्यान लिने धम्की दिएर छाडेको थियो ।
घटनामा पीडित महिलाले किटानी जाहेरी दिएपछि इलाका प्रहरी कार्यालय लेटाङले सामूहिक बलात्कार आरोपमा मोरङ जिल्ला अदालतमा मुद्दा दर्ता गराएको थियो । रासस