भक्तपुर, ३ पुस–नेपाल विद्युत् प्राधिकरण भक्तपुर अन्तर्गतका दुईवटा शाखामा मागअनुसारको मिटर नआएपछि मिटर जडान गर्न आर्थिक चलखेल हुने गरेको गुनासो बढेको छ । महिनौ कुर्दा पनि मिटर नपाएपछि प्राधिकरणभित्रैका केही कर्मचारीले नयाँ मिटर जडानमा पैसा माग्ने गरेको गुनासो बढेको हो ।
असोज पहिलो साता नयाँ घरमा मिटर जडान गर्न निवेदन दिएका झौखेलका रामकृष्ण श्रेष्ठले हरेक साता ताकेता गर्दा पनि मिटर नपाएपछि एक कर्मचारीलाई एक हजार दिएपछि बल्ल मिटर जडान गरिदिएको गुनासो गरे ।
यस्ता गुनासो हरेक दिन बढ्ने गरेको प्राधिकरणकै कर्मचारी बताउँछन् । भक्तपुर र ठिमी शाखाका केही कर्मचारीले मिटरका लागि भौँतारिएका ग्राहकसँग छिटो मिटर जडान गर्न घुस माग्ने गरेको गुनासो आएको छ ।
कात्तिकमा मिटर जडान गर्न शुल्क तिरिसके पनि मिटर नपाएपछि प्राधिकरण भक्तपुर शाखा पुगेका कटुञ्जेका शिवराम पौडेलले पालो कुर्दा मिटरको ठेगान नभएको भन्दै छिटो मिटर जडान गर्न घुस मागेको गुनासो गरे ।
प्राधिकरण भक्तपुर शाखाका प्रमुख इन्जिनियर लखनलाल शाहले मागअनुसारको मिटर केन्द्रबाटै नआएकाले मिटरका लागि नौ महिनासम्म कुर्नुपर्ने बाध्यता रहेको बताए ।
यता ठिमी शाखाका प्रमुख सुवोध शर्माले बालकोटमा मन्त्रीको भान्जाका लागि मन्त्रीले नै छिटो मिटर दिन आग्रह गर्दा पनि पालो मिचेर मिटर नदिएको दाबी गरे ।
ठिमी शाखामा अहिले ९२४ जना ग्राहकले नयाँ मिटरका लागि आवेदन दिएका छन् भने प्राधिकरणले ४६७ जनाको मिटर जडान गरेको, ३०० ग्राहकको जडान गर्ने प्रक्रियामा गएको र अझै १५० भन्दा बढी मिटर अपुग रहेको उनले बताए । रासस