
काठमाण्डु, ३ पुस– प्रधानमन्त्री सुशील कोइरालाले आज एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बालुवाटारमै बोलाएर भेटेका छन् । संविधानको अन्तर्वस्तुमा प्रमुख दलहरुबीच कुनै सहमति नभएको अवस्थामा प्रधानमन्त्री र प्रचण्डको भेटलाई अर्थपूर्ण रुपमा लिइएको छ ।
सत्तारुढ दलहरुबीच नै सरकार विस्तार तथा हेरफेरको चर्चा चलिरहेकै बेलामा प्रमुख प्रतिपक्षी दलका नेता र प्रधानमन्त्रीबीच भेट भएको हो । भेटमा संविधान निर्माणका विवादित विषयमा कसरी सहमति जुटाउने भन्ने विषयमा छलफल भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
भेटमा अन्य दलका नेता सहभागी थिएनन् भने एमाओवादीका अरु नेतालाई पनि बोलाइएको थिएन ।
भेटमा कुन–कुन विषयमा कुरा भयो भन्ने सार्वजनिक गरिएको छैन । प्रधानमन्त्री कोइरालाले संविधान जारी गर्ने विषयमा सबै राजनीतिक दलहरुले चुनावको समयमा प्रतिबद्धता गरेको र छिट्टै सहमति कायम गर्न नभए प्रकृयाबाट टुंगो लगाउने सहमति कायम गर्न एमाओवादी अध्यक्ष प्रचण्डलाई आग्रह गरेको बताएका छन् ।