यथार्थमा रुमलिएको ‘डिग्री माइला’को कथा

काठमाण्डु टुडे २०७१ पुष ३ गते ८:१५ मा प्रकाशित

काठमाण्डु, ३ पुस–नेपालमा बर्सेनि १७ हजारले स्नातकोत्तरको अध्ययन सिध्याउँछन् तर कतिले त्यसलाई जीवनमा उतार्छन् त ? सायद यो प्रश्न अनुत्तरित होला ।

tears

यस्तै कथा र व्यथा बोकेको एक युवकको कथा हो ‘डिग्री माइला’ नाटक । अहिलेसम्म गरी अनामनगरस्थित मण्डला नाट्यघरमा यो तीनपटक प्रदर्शनीमा आइसकेको छ । पहिलोपटक २०६८ साल फागुनमा र दोस्रोपटक २०७० मङ्सिर मञ्चन भए । तेस्रोपटक यही मङ्सिर २० गतेदेखि मण्डलामा मञ्चन भइरहेको छ ।

नाटकको मुख्य पात्रका रुपमा रहेका डिग्री माइला, जो स्नातकोत्तर तहको अध्ययन सम्पन गरेर पनि त्यसलाई उपयोग नगरी बस्ने, सबैलाई सपना देखाउने र सपनालाई व्यवहारमा गति दिने बेलामा हराइदिने मान्छेका रुपमा देखिन्छ ।

गाउँको एउटा निर्धारित ढिस्कोमा जम्मा हुने, दुःखसुख र मजाकका कुरा गर्ने, योजनाहरु बुन्ने नाटकको पात्रहरुको एउटा बिम्ब हो । नाटकको पात्र ‘सपना’ सपना बुन्दिनन् तर स्वेटर भने जुनै बेला पनि बुनिरहेको भेटिन्छे । डिग्री माइलाले गाउँलाई विकासको बाटोमा लैजाने र सबैलाई सुखी बनाउने सपना देखाउँछ तर नाटकको अन्तिममा उसको मृत्यु हुन्छ ।

आफैँ चलचित्र तथा नाटकका कलाकारसमेत रहेका निर्देशक दयाहाङ राईले समाजमा आफूले देखे भोगेका कथालाई नाटकमा समेटेको बताउछन् । नाटकमा डिग्री माइलाका रुपमा प्रदीपकुमार चौधरी देखिएका छन् । सपनाको भूमिकामा सिर्जना सुब्बा रहेकी छिन् भने अन्य कलाकारमा आर्जेश रेग्मी, आयुषा राई, दिलबन्धु यादव, सुलक्षण भारती, वाल्मिकी पोखरेल, मोहम्मद नाजिर हुुसेन, विकास जोशी, उमेश तामाङ, सोमनाथ खनाल, बुद्धि तामाङ, जुनु विष्ट र विजय बराल रहेका छन् ।

नाटक पुस ६ गतेसम्म चल्नेछ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us