
काठमाण्डु, ३ पुस– एमाले नेता तथा सभासद् भरतमोहन अधिकारीले संविधान निर्माणमा परेको गाँठो अब सभाध्यक्ष सुवास नेम्वाङले फुकाउनुपर्ने बताएका छन् । संविधानसभाको आजको बैठकमा बोल्दै नेता अधिकारीले समय धेरै घर्किसकेकाले समस्याको गाँठो सभाध्यक्षकै नेतृत्वमा फुकाउनुपर्ने विचार व्यक्त गरेका हुन् ।
राजनीतिक दलहरुबीचमा सहमति हुन नसकेको समयमा नेता अधिकारीले त्यसको जिम्मा सभाध्यक्षलाई नै दिने नयाँ प्रस्ताव गरेका हुन् ।
संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिको प्रतिवेदनमाथिको छलफलमा आज भाग लिँदै उनले घुमाउरो शैलीमा शीर्ष नेताहरुको नेतृत्वप्रति असहमति जनाएका हुन् ।
उनले गणतन्त्र, सङ्घीयता, समावेशी लोकतन्त्रलगायत विषयमा सहमति भइसकेकाले विवाद नबल्झाउन आग्रह गर्दै विज्ञहरूलाई प्रदेशको नाम र सीमाङ्कन गर्ने जिम्मा दिएर सहमति कायम गर्न सकिने पनि बताए ।
अधिकारीले माघ ८ गतेभित्र कुनै पनि हालतमा संविधान जारी गर्न पनि नेम्वाङले ने अग्रसरता देखाउनेुपर्ने बताए । एमाले नेता अधिकारीलाई एमालेभित्र मध्यमार्गी धारका नेताका रुपमा लिइन्छ ।
यसैबीच संवाद समितिको छलफलमा नेपाली काँग्रेसका धनराज गुरुङले सहमति गर्न विलम्ब गर्न नहुने भाषण गर्ने नेताहरूले आजसम्म संविधानका अन्तरवस्तुमा सहमति नगरेकामा खेद प्रकट गरे ।
एमाओवादीका अग्निप्रसाद सापकोटाले इतिहासबाट पाठ सिक्न नसकेको र युगान्तकारी परिवर्तनलाई आत्मसात् गर्न नसकिएको, अन्तरिम संविधानको प्रस्तावनालाई बेवास्ता गरिएको, विगतका सम्झौता पालना नगरिएको भन्दै संवाद समितिमाथि मात्रै प्रहार भएकोमा आपत्ति प्रकट गरे ।
उनले परिवर्तनको प्रवाहलाई रोक्ने खेल सुरु भएको भन्दै एमाओवादी रहँदासम्म जनतालाई अधिकार दिने विषयमा कोही कसैसँग सम्झौता नगरिने धारणा राखे ।
राप्रपा नेपालका गणेश थापाले सहमतिको कुरा गरे पनि सहमति नभएको अवस्थामा नयाँ बाटो तय गरेर तोकिएको समयमा संविधान जारी गर्नुपर्नेमा जोड दिँदै दलहरु मिल्न नसके जनमत सङ्ग्रहमा गएर भए पनि विवादित विषयको समाधान गर्न आग्रह गरे ।
रासस