बागलुङ, ३ पुस–संविधानसभा सदस्य हरिबहादुर खड्काको मोटर दुर्घटनाबारे छानबिन गर्न सरकारले गठन गरेको समितिले तोकिएको म्याद सकिएपछि मात्र काम सुरु गरेको छ ।
सरकारले पत्र ढिला दिएका कारण काम ढिला सुरु गरेको समितिले बताएको छ ।
गत मङ्सिर १७ गते जिप दुर्घटनामा गम्भीर घाइते सभासद् खड्काको उपचारका क्रममा मङ्सिर २१ गते निधन भएको थियो । खड्काको निधनपछि सरकारले मङ्सिर २२ गते एक साताको म्याद दिएर नायब महान्यायाधीवक्ता राजेन्द्र सुवेदीको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको थियो ।
संयोजक सुवेदीले सरकारले दिएको पत्रमा सभासद् खड्काको दुर्घटना सम्बन्धमा तथ्यगत प्रतिवेदन तयार गर्न उल्लेख गरिएको जानकारी दिए ।
सुवेदी संयोजक रहेको उक्त समितिमा नेपाल प्रहरीका नायब महानिरीक्षक माधवप्रसाद नेपाल र राष्ट्रिय अनुसन्धान विभागका निर्देशक गणेश अधिकारी सदस्य रहेका छन् ।
यस्तै खड्काको दुर्घटनापछि नेपाली काँग्रेसले प्रवक्ता दिलेन्द्र बडूको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो । उक्त समितिसमेत अहिलेसम्म परिवार तथा आफन्तको सम्पर्कमा नआएको खड्काका भान्जा अर्जुन घिमिरेले बताए । रासस