
गोरखा, ३ पुस–गोरखाका सरकारी विद्यालयमा विज्ञान पढाउने शिक्षक अभाव भएको छ ।
जिल्ला शिक्षा कार्यालय गोरखाले गत मङ्सिर १ गतेदेखि लागू हुने गरी अस्थायी शिक्षण अनुमतिपत्र भएका शिक्षकलाई अवकाश दिने परिपत्र गरेपछि विज्ञान शिक्षकको विद्यालयमा अभाव देखिएको हो ।
जिल्लाभर रहेका निमावि, माविमा विज्ञान शिक्षक अभाव भएको हो । दशवटा माध्यमिक विद्यालय र आधा दर्जन बढी निमाविले विज्ञान पढाउने शिक्षक पाएका छैनन् ।
“विज्ञान शिक्षकको प्रायःगरी गोरखामा अभाव हुन्छ”, महेन्द्रज्योति उमाविका प्राचार्य लक्ष्मणबाबु आचार्यले भने ‘थोरै विद्यार्थीले मात्रै विज्ञान मूल विषय लिएर पढ्छन् ।’
तीमध्ये अझै थोरैलेमात्रै स्नातकोत्तर हासिल गर्छन् । माग धेरै उत्पादन कम हुँदा विद्यालयले समस्या झेल्नुपरेको छ । विज्ञान शिक्षकका लागि विज्ञापन आह्वान गर्दा अन्य मूल विषयको भन्दा कम दरखास्त पर्ने गरेको प्राचार्य आचार्यको अनुभव छ ।
जिल्ला शिक्षा कार्यालय गोरखाले अख्तियारको डरले शिक्षण अनुमतिपत्र नभएका शिक्षकलाई अवकाश दिन सम्बन्धित विद्यालय व्यवस्थापन समितिलाई परिपत्र गरेकाले अवकाश दिइएको हो । परिपत्रमा लाइसेन्स नभएका शिक्षकलाई अवकाश नदिए कार्यालयले तलब भत्तासहितको सुविधाबाट वञ्चित गर्ने निर्देशन दिएको थियो । रासस