
काठमाण्डु, ३ पुस– प्रमुख विद्यार्थी संगठनका प्रतिनिधिहरुले आज प्रधानमन्त्री सुशील कोइरालालाई भेटी पेट्रोलियम पदार्थको भाउ घटाउन आग्रह गरेका छन् । उनीहरुले प्रधानमन्त्री निवास बालुवाटारमा पुगी अन्तर्राष्ट्रिय मूल्यअनुसार नेपाल आयल निगमले मूल्य समायोजन गर्नुपर्ने भन्दै ज्ञापनपत्र बुझाएका हुन् ।
पेट्रोलियम पदार्थको मूल्य सँगसँगै ढूवानी भाडा र दैनिक उपभोग्य वस्तुको मूल्यसमेत घटाउन विद्यार्थी संगठनहरुले प्रधानमन्त्रीसँग माग गरेका छन् । ज्ञापनपत्रमा पूजा बोहरामाथि भएको बलात्कार घटनाका आरोपीहरु उम्किएको बिषयमा तत्काल छानबिन गरी दोषीलाई कारवाही गर्न माग समेत गरिएको छ ।
विद्यार्थीहरुले समयमै संबिधान जारी गर्नको लागि समेत प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।
ज्ञापन पत्र बुझ्दै प्रधानमन्त्री कोइरालाले पेट्रोलियम पदार्थको मूल्य घटाउन विभागीय मन्त्रीलाई निर्देशन दिइसकेको बताउदै पूजा बोहराको बिषयमा छानबिन प्रक्रिया अघि बढाइएको जानकारी दिए ।