बाह्रघन्टे सेवाको पहिलो दिन धनगढीमा सेवाग्राही एकजना मात्रै

काठमाण्डु टुडे २०७१ पुष ३ गते ६:०३ मा प्रकाशित

धनगढी, ३ पुस– सेवाग्राहीको बढी चाप रहने सरकारी कार्यालयमा बिहान ६ बजेबाट सेवा सुचारु गरिएपनि मालपोत कार्यालय कैलालीका कर्मचारी बिहानको समयमा कामविहीन बनेका छन् । नापी कार्यालयमा त पुस १ गते बिहानभरि एकजनाले मात्रै सेवा लिए ।

Napi office
झिसमिसे उज्यालोमा कार्यालयमा पुग्ने मालपोत कार्यालय र नापी कार्यालयका कर्मचारी सेवाग्राही नआएपछि कामविहीन बनेका हुन् ।

‘बिहान ८ बजेपछि मात्रै दुई÷चार जना सेवाग्राही सेवा लिन आउने गरेका छन्,’ मालपोत कार्यालयका नायब सुब्बा मीनराज पाठकले भने ।

सरकारी सेवा सहजरुपमा छिटो छरितो ढङ्गबाट उपलब्ध गराउन बिहान कार्यालय सुचारु गर्ने नीति उचित भएपनि अपेक्षाकृतरुपमा सेवाग्राही नआउँदा भने पुस महिनाको कठ्याङ्ग्रिने जाडोमा कर्मचारीहरूले हैरानी खेप्नुपरेको कतिपय कर्मचारीको गुनासो छ ।

नापी कार्यालय कैलालीबाट बिहानको समयमा पुस १ गते एक जनाले सेवा लिएकामा २ गते बिहान ७ देखि १० बजेसम्मकोे समयमा आठ जनाले सेवा लिएका छन् । त्यस्तै आज बिहान ८ बजेसम्म चारजना सेवा लिन आइपुगेको बताइएको छ ।

पुस महिनाको कठ्याङ्ग्रिने जाडोमा कामको बढी चाप रहने कार्यालय बिहान ६ बजेबाट सञ्चालन गरिएकाले पनि सेवाग्राहीको कार्यालयमा उपस्थिति न्यून रहेको कतिपयको भनाइ छ ।

सेवाग्राहीलाई सहज र छिटो छरितो ढङ्गबाट सेवा दिने सरकारको मनसाय उचित रहेको भएपनि सेवा छिटो र सहज ढङ्गबाट दिने नाममा झिसमिसे उज्यालोमै कार्यालय सञ्चालन गरेर सेवा दिने समय विस्तार गर्नुभन्दा सेवा पाउन लाग्ने समयमा ध्यान दिँदै कार्यालयमा सेवा दिने परम्परागत शैली र व्यवहारलाई समयानुकूल परिवर्तन गरी वैज्ञानिक र व्यवस्थित गर्नुपर्ने धारणा सेवाग्राही शिवदत्त भट्टको छ ।
रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us